काठमाडौँ — सरकारले १०० दिनमा उल्लेख्य काम गर्न नसकेका तथ्यांकहरू सार्वजनिक भइरहेका बेला सत्तारुढ दलको बैठक बस्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बोलाइएको छ ।
बैठकमा सरकारका कामकारबाही तथा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दैछन् । सत्तारुढ दलकै नेताहरू सरकारको कामकारबाहीबारे सन्तुष्ट नभएका बेला प्रधानमन्त्री ओलीले सबै दललाई छलफलका लागि डाकेका हुन् ।
एमाले अध्यक्ष ओलीलाई असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । माओवादी-रास्वपालगायतका दलको गठबन्धन टुटाएर एमालेले कांग्रेससँग मिलेर सरकार बनाएको थियो । ओलीलाई कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपाल समर्थन गरेका छन् । जनमत र जसपा नेपालले भने सरकारबाहिरै रहेर उनलाई समर्थन गरेका हुन् ।
