पहिरो पन्छाएर एकतर्फी खुलाइयो बीपी राजमार्ग

आश्विन २५, २०८१

ज्योती श्रेष्ठ

काभ्रे — सुख्खा पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्ग अहिले एकतर्फी सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका प्रमुख सुमन योगेशका अनुसार, पहिरो पन्छाएर शुक्रबार दिउँसो २:३० बजेदेखि एकतर्फी यातायातका साधन सञ्चालनमा आएका छन् । सुख्खा पहिरो झरिरहेकाले निकै नै सावधानी अपनाउन उनले आग्रह गरेका छन् । 

शुक्रबार बिहान करिब ३ बजेतिर समयमा काभ्रेको रोशी गाउँपालिका वडा नं  ११, पिप्लेमा माथिबाट सुख्खा पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो । खोटाङबाट काठमाडौंतर्फ आउँदै  गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको थियो ।

त्यस्तै, सिन्धुलीबाट काठमाडौंतर्फ  आउँदै  गरेको बा. ४ ख. ४३५२ नम्बर बसलाई रोशी खोलाछेउ पुर्‍याएको थियो । दुवै दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।  

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully