काठमाडौँ — सहकारी बचतकर्ताको सवा अर्ब अपचलन गरेको अभियोग लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर ५१ वर्षीय देवकुमार नेपालीलाई प्रहरीले काठमाडौँ हुँदै बागलुङ पठाएको छ ।
करिब डेढ वर्षदेखि फरार रहेका नेपालीलाई प्रहरीले इन्टरपोलको समन्वयमा शुक्रबार नयाँ दिल्लीबाट पक्राउ गरेको थियो ।
उनलाई विमानबाट काठमाडौँ ल्याएर थप अनुसन्धानको लागि बागलुङ पठाइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
पोखरा र बागलुङमा सञ्चालित ईमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष तथा पोखरामा सञ्चालित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको संचालक समिति उपाध्यक्ष रही सहकारीको एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ ।
एसपी बोगटीका अनुसार सोही प्रकरणमा मेयर नेपालीसँगै बागलुङको बुर्तिबाङका ५८ वर्षीय ओम प्रसाद दर्जीलाई समेत पक्राउ गरी बागलुङ पठाइएको छ ।
०७९ को निर्वाचनमा ढोरपाटनको मेयर बनेका नेपालीले सहकारीको अध्यक्षका रुपमा बचत रकम अपचलन गरेको खुलेपछि उनीविरुद्ध बचतकर्ताले उजुरी दिएका थिए । उक्त सहकारीले २०८० वैशाख ७ मा अकस्मात् ‘तरलता अभावले’ कारोबार बन्द गरिएको भन्दै सूचना टाँसेपछि नेपालीसहितले गरेको ठगी सतहमा आएको थियो । अध्यक्ष नेपाली त्यही बेलादेखि श्रीमतीसहित सम्पर्कविहीन भएका थिए ।
प्रहरीले मेयर नेपालीसमेत ८ जनालाई प्रतिवादी बनाएर सहकारी ऐन २०७४, अन्तर्गतको कसुरमा बाग्लुङ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।
