सहकारीको सवा अर्ब ठगेर भागेका मेयर इन्टरपोलको समन्वयमा दिल्लीमा पक्राउ

२०८० वैशाख ७ मा अकस्मात् ‘तरलता अभावले’ कारोबार बन्द गरिएको सूचना टाँसिएपछि मात्रै इमेज सहकारीको रकम अपचलन सतहमा आएको थियो, अध्यक्ष नेपाली भने त्यति बेलैदेखि श्रीमतीसहित सम्पर्कविहीन भएका थिए ।

आश्विन १२, २०८१

प्रकाश बराल, मातृका दाहाल

The Mayor, who defrauded the cooperative of 1.5 billion, was arrested in Delhi in coordination with Interpol

काठमाडौँ र बागलुङ — सहकारी बचतकर्ताको सवा अर्ब अपचलन गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ परेका छन् । बागलुङमा मुख्य कार्यालय रहेको इमेज सहकारीका अध्यक्ष नेपालीलाई इन्टरपोलको समन्वयमा भारतीय प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

मेयर नेपाली एमाले गण्डकी प्रदेश कमिटीका निलम्बित सदस्य हुन् । 

‘तरलता अभावले’ कारोबार बन्द गरिएको सूचना कार्यालयमा टाँस्न लगाएर इमेज सहकारीका अध्यक्ष नेपाली पत्नी छेलासहित २०८० वैशाखदेखि सम्पर्कविहीन थिए । बचत हिनामिनासम्बन्धी १ हजार ५ सय ४३ बचतकर्ताको जाहेरीका आधारमा प्रहरीले पहिलो चरणको अनुसन्धान सकेपछि नेपाली र पत्नी छेलासहित १३ जनाविरुद्ध २०८० असार २५ मा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । अभियोगपत्रमा उनीहरूले सहकारीको १ अर्ब ३० करोड ७६ लाख ९८ हजार ६ सय ६८ रुपैयाँ ठगी गरेको उल्लेख छ ।

नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले २०८० माघ १० मा नेपाली र पत्नी छेलाविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो । ठीक ८ महिनापछि नेपाली समातिएका हुन् । नेपाल प्रहरीका निमित्त महानिरीक्षक टेकप्रसाद राईले नेपालीलाई कूटनीतिक प्रक्रियाबाट नेपाल ल्याउने तयारी भइरहेको बताए । ‘नेपालीलाई स्वदेश ल्याउन प्रहरी प्रधान कार्यालयले शुक्रबार नै गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ,’ उनले भने ।

पीडित बचतकर्ताले सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएपछि गण्डकी सरकार र ढोरपाटन नगरपालिकाबाट कागजात संकलन गरेर प्रहरीले अनुसन्धान थालेको थियो । मेयर नेपाली फरार भएपछि सहकारीको कार्यवाहक अध्यक्षको जिम्मेवारी डोरबहादुर परियारले सम्हालेका थिए । अनुसन्धानका क्रममा प्रहरीले कार्यवाहक अध्यक्ष परियारसहित ६ जनालाई पक्राउ गरेको थियो । 

पक्राउ परेका र फरारसहित १३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको थियो, जुन मुद्दा विचाराधीन छ । २०८० साउन ५ मा अदालतले दिएको आदेशबमोजिम कार्यवाहक अध्यक्ष परियारसहित ५ जना पुर्पक्षका लागि जेलमा छन् भने एक जना धरौटीमा छुटेका छन् । मेयर नेपालीले भने फरार रहेकै बेला सामाजिक सञ्जाल फेसबुक र विज्ञप्तिमार्फत आफ्नो नाउँमा १८ वटा घर र ४४ कित्ता जग्गा रहेको भन्दै ‘आफ्नो घरजग्गा बेचेर ऋण तिर्ने वातावरण मिलाइदिन’ सरकारसँग आग्रह गरेका थिए ।

बागलुङ नगरपालिका–२, हल्लनचोकस्थित इमेज सहकारी संस्थाको कार्यालयमा २०८० वैशाख ७ को बिहान अकस्मात् कारोबार बन्द गरिएको सूचना टाँसिएपछि मात्रै सहकारीका सञ्चालक र कर्मचारीको मिलेमतोमा रकम ठगी भएको विषय सतहमा आएको थियो । सूचनामा तरलता अभावका कारण वैशाख ६ को सञ्चालक समिति बैठकको निर्णयअनुसार केही समय सहकारीको कारोबार बन्द गरिएको उल्लेख थियो । सूचनामा हस्ताक्षर भने अध्यक्ष नेपालीको साटो कार्यवाहक अध्यक्षका रूपमा परियारले गरेका थिए । त्यसपछि नै अध्यक्ष नेपाली पत्नी छेलासहित सम्पर्कविहीन थिए । नगरपालिकामा भने नेपालीले उपमेयर धनबहादुर कायतलाई कार्यवाहकको जिम्मेवारी दिएको पत्र भेटिएको थियो ।

The Mayor, who defrauded the cooperative of 1.5 billion, was arrested in Delhi in coordination with Interpol

नेपाली फरार भएपछि एमालेकै काठेखोला गाउँपालिका अध्यक्षसमेत रहेका डिलबहादुर कार्कीको संयोजकत्वमा इमेज सहकारीपीडित संघर्ष समिति गठन भएको थियो । सहकारी रजिस्ट्रार कार्यालय पोखराको प्रारम्भिक अनुसन्धानमा इमेज सहकारीले बागलुङ सदरमुकामका साथै गलकोट, बुर्तिवाङ र पोखरा शाखामा गरेर १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । 

अदालतमा पेस गरिएको अभियोगपत्रमा भने १ अर्ब ३० करोड ठगी भएको उल्लेख छ । नेपालीले बागलुङमै रहेको राष्ट्रिय सहकारी बैंक, गरिमा विकास बैंक र ग्लोबल आईएमई बैंकको शाखाबाट ३५ करोड रुपैयाँ ऋणसमेत लिएको भेटिएको छ । नेपालीमाथि कृत्रिम ऋणी खडा गरेर बचत अपचलन गरेको अभियोगसमेत छ । 

संस्थाका नाममा जग्गा खरिद गर्ने भन्दै कृत्रिम जग्गा प्रविष्ट गरेर त्यसबापतको रकम हिनामिना गरेको समेत अभियोगपत्रमा उल्लेख छ । सहकारीको रकम दुरुपयोग गरेर बागलुङलगायतका विभिन्न स्थानमा घरजग्गा, महँगा सवारीसाधन खरिद गरेको अभियोग पनि उनीमाथि छ । 

२०६८ साउनमा दर्ता भएको इमेज सहकारीमा नेपाली स्थापनाकालदेखि नै अध्यक्ष थिए । ‘इमेज सहकारीमा देवकुमार नेपालीबाहेक कोही अध्यक्ष भएको मलाई जानकारीमा छैन,’ राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जीसीले भने । ०७४ र ०७९ का दुवै निर्वाचनमा ढोरपाटन नगरपालिकाबाट मेयरमा निर्वाचित हुँदा पनि नेपालीले सहकारीको नेतृत्व छाडेका थिएनन् । ०७४ को निर्वाचनमा माओवादीले टिकट नदिएपछि नेपाली एमाले प्रवेश गरेर मेयर भएका थिए । माओवादीमा लाग्नुअघि उनी नेकपा मसालमा आबद्ध थिए । मसालमा रहँदा पनि उनी आर्थिक अनियमिततामा मुछिएका थिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सहकारीको अध्यक्षलाई स्थानीय तहको चुनावमा उठ्न कानुनले रोक्दैन तर उम्मेदवार बनेपछि बचतकर्तालाई विवेकसम्मत मतदान गर्न अवरोध पुग्छ । सहकारीका अध्यक्षले बचतकर्तालाई आफ्नो पक्षमा मतदान गर्न दबाब दिन्छन् ।

‘निर्वाचन कानुनमा रहेको कमजोरीलाई टेकेर थुप्रैले चुनाव जितेका छन्, त्यसमध्येका एक नेपाली हुन्,’ थपलियाले भने, ‘पहिलेका कमजोरी र छिद्र हटाउन कानुन संशोधन गर्नुपर्छ ।’ कुनै संगठित संस्थामा आबद्ध रहेको र सहकारी, लघुवित्त, बैंकलगायत विभिन्न संस्थाको रकम हिनामिना गरेको र कालोसूचीमा परेको व्यक्तिले चुनावमा भाग लिन नपाउने गरी कानुन संशोधन गर्न आफूहरूले प्रस्ताव गरेको पनि उनले जानकारी दिए ।

नेपालीले राष्ट्रिय सहकारी बैंक, गरिमा विकास बैंक र ग्लोबल आईएमई बैंकबाट पनि ३५ करोड रुपैयाँ ऋण लिएर अपचलन गरेका थिए । सहकारी र बैंकबाट लिएको रकमबाट उनले बागलुङ, कास्की र काठमाडौंमा घरजग्गा जोडेको पाइएको छ । नेपालीले सहकारी ठगेर आएको पैसाबाटै भक्तपुरमा किनिएको ५ कित्ता जग्गा पत्नी छेलाकी भाउजू कमला गिरीका नाममा २०८० वैशाख २७ मा पास गरेका थिए । भतिजी देवी नेपालीलाई ५ कित्ता जग्गा त्यही वैशाख २५ मा पास गरिदिएको भेटिएको थियो ।

अर्की भतिजी माया नेपालीलाई छेला र आफ्नो नाममा रहेको ३ कित्ता जग्गा वैशाख २८ मा पास गरिदिएका थिए । मेयर नेपालीले सहकारीका कार्यवाहक अध्यक्ष परियारका नाममा पनि २०७९ जेठ ४ मा जग्गा पास गरिदिएको भेटिएको छ । सहकारीकै ओमप्रसाद दर्जीले २०८० जेठ ४ मा छोरी सञ्जु नेपालीका नाममा तीन कित्ता, माया नेपालीका नाममा एक कित्ता जग्गा नामसारी गरेको पनि भेटिएको छ । सहकारी ठगेरै हात पारेको रकमबाट अरू सञ्चालक र कर्मचारीले पनि जायजेथा जोडेको अनुसन्धानबाटै खुलेको छ ।

सहकारीको रकम हिनामिना गर्नकै लागि उनले गैरबचतकर्ताका नाममा फर्जी खातासमेत खोलेको अनुसन्धानका क्रममा भेटिएको थियो । सहकारी ठगेर नेपाली भागेपछि गत वर्ष कात्तिक र मंसिरमा सहकारी बैंकले इमेज कार्यालय रहेको घर लिलामी गर्न सूचना निकालेको थियो । प्रक्रिया पुर्‍याएर घर बिक्री गर्न लागेको थाहा पाएपछि संघर्ष समितिले त्यसको विरोध गर्दै मालपोत नै घेराउ हालेको थियो । त्यसपछि लिलामी प्रक्रिया स्थगित भएको छ ।

इमेज सहकारीको कार्यालय अझै खुलेको छैन । दुई दशकदेखि बागलुङ बजारमा चिया पसल गरेर कमाएको पैसाले घर निर्माण गर्ने योजनासाथ इमेजमा बचत गरेको रकम हिनामिना भएको तुलसीराम गौतमले बताए । इमेजमा उनले ५० लाख रुपैयाँ बचत गरेका थिए । ‘सहकारीमा राखेको पैसाले घर बनाउने, छोराछोरी पढाउने योजना चकनाचुर भयो,’ गौतमले दुखेसो पोखे ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully