न्युयोर्क — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राष्ट्रहरुलाई जलवायु परिवर्तनमा जिम्मेवारी लिन आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा बुधबार न्युयोर्कमा नेताहरूको जलवायु जोखिम फोरमको बैंठकमा सम्बोधन गर्दै भने,‘विश्वव्यापी जलवायु न्यायका लागि कार्बन उत्सर्जन गर्ने प्रमुख राष्ट्रहरूलाई जलवायु परिवर्तनमा आफ्नो योगदानको जिम्मेवारी लिनु अनुरोध गर्दछु ।’
ओलीले जलवायु परिवर्तनले नेपालजस्ता जोखिममा परेका मुलुकमा परेको असमान प्रभावमा जोड दिएका थिए । उनले भने,‘जलवायु परिवर्तन हाम्रो समयको परिभाषित संकट हो । हिमाल र अल्पविकसित मुलुक भएकाले नेपालले बढ्दो मात्रा र तीव्रतामा जलवायुजन्य प्रकोपको सामना गरिरहेको छ ।’
उनले हिमालयमा हिमनदीको डरलाग्दो परिस्थितीलाई जोड दिँदै हिमालय क्षेत्रमा विशाल हिउँको भण्डार रहेको प्रस्ट पारे । उनले त्यो हिउँले एसियाका अरबौं मानिसहरूको लागि महत्त्वपूर्ण जीविकोपार्जन बनेको र विश्वव्यापी तापक्रम बढ्दै जाँदा त्यसलाई अभूतपूर्व रूपमा हिउँको दर घट्दै गएको पनि उल्लेख गरे ।
उनले हालैका महिनाहरूमा नेपालमा जलवायु प्रकोपले २०० भन्दा बढीको ज्यान लिनुका साथै सम्पूर्ण समुदाय र स्थानीय अर्थतन्त्रलाई ध्वस्त पारेको जानकारी पनि विश्व समुदायलाई दिए । ओलीले एउटा प्रतिवेदनलाई उल्लेख गर्दै सन् २००० देखि २०१८ सम्म विभिन्न जलवायु सम्बन्धि घटनामार्फत सबैभन्दा बढी प्रभावित हुने मुलुकको सूचीमा नेपाल १० औं स्थानमा रहेको बताए ।
उनले पेरिस सम्झौतामा नेपाल प्रतिबद्ध रहेको बताए । उनले उक्त सम्झौतमा उल्लिखित ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न विश्वले तत्काल कदम चाल्नुपर्ने प्रस्ट पारे । उनले जलवायु कार्यका लागि निष्पक्ष र सुलभ वित्तीय संयन्त्रको आवश्यकतामा रहेको पनि औंल्याए ।
प्रधानमन्त्रीले जलवायु कार्यका लागि जोखिममा परेका राष्ट्रहरूलाई दिगो ऋण उठाउनबाट जोगाउन जलवायु वित्त सहुलियतमा हुनुपर्नेमा जोड दिए । उनले भने,‘जलवायु वित्तलाई परम्परागत विकास सहायताबाट अलग्गै राख्न आग्रह गर्दछु ।’
