नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली न्युयोर्कमा

आश्विन ५, २०८१

जगदीश्वर पाण्डे

Prime Minister Oli in New York leading the Nepalese delegation

न्युयोर्क (अमेरिका) — नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा र समिट अफ द फ्युचर कार्यक्रममा भाग लिन २२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, नियोग उपप्रमुख कौशल किशोर राय, अमेरिकाका लागि कार्यवहाक राजदूत कुमार खरेल, न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका प्रमुख चक्र सुवेदीलगायतले जोन एफ केनेडी विमानस्थलमा स्वागत गरे ।

महासभादेखि समिट अफ द फ्युचरसहित अमेरिकामा रहँदा ओलीले ७ कार्यक्रममा सम्बोधन गर्ने छन् भने एक दर्जनभन्दा बढी साइडलाइन भेटवार्ता तथा नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने छन् ।

प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमार्फत सम्पूर्ण गृहकार्य पूरा गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघ भित्र भने  महासभाको भ्रमणका दौरान चार महत्त्वपूर्ण कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । परराष्ट्रका अनुसार प्रधानमन्त्री ओलीले समिट अफ द फ्चुचयर, ७९ औं महासभाको उच्चस्तरीय छलफल, ‘एन्टिमाइक्रोबियल रेसिस्सटेन्स’ को उच्चस्तरीय सत्र र ‘सी लेभल राइज’ को उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । साथै न्युयोर्कमै विभिन्न मुलुकका सांसदहरुलाई ‘पेरिस सम्झौतासँग जोडिएर फाइनान्सिङ द फुचरः मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ओलीले असोज ७ मा समिट अफ द फ्यचुरमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । ओलीले आएकै दोस्रो दिन महासचिव गुटेरेससँग भेटवार्ता गर्नेछन् भने महासभालाई असोज १० मा सम्बोधन गर्ने छन् ।

ओलीले राष्ट्रसंघबाहेक असोज ७ मा न्युयोर्कको कोलम्बिया विश्वविद्यालयमा ‘प्रजातन्त्र र आर्थिक समृद्धिमा नेपालको यात्रा’ विषयमा सम्बोधन गर्ने छन् भने ‘संक्रमणकालीन न्यायदेखि जलवायु न्यायसम्म नेपालको दृष्टिकोण’ सम्बन्धमा असोज ११ मा बोस्टनको हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रसंघको ७९ औं महासभामाराष्ट्रसंघको ७९ औं महासभा

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully