कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

फेक अडियो प्रकरणका फरार अभियुक्त राजकुमार तिमल्सिना पक्राउ

फेक अडियो प्रकरणका फरार अभियुक्त राजकुमार तिमल्सिना पक्राउ

काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्ममी र पत्रकार समेतलाई लाञ्छित गरी फेक अडियो बनाएको प्रकरणमा फरार आरोपित राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । तिमल्सिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ  काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो । 

तिमल्सिनाले तयार गरेको फेक अडियो 'स्टिङ अपरेसन'को नाममा सीधा कुरा अनलाइनमार्फत् सार्वजनिक गरिएको थियो ।

उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २०८१ असार १३ गते विद्युतीय कारोबार ऐन र अपमानजनक कसुरविरुद्धको अपराध गरेको अभियोगमा तिमल्सिनासहित तीन जनालाई प्रतिवादी बनाएर १ लाख रुपैयाँसम्मको जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । त्यसमध्ये तिमल्सिनासहित फेक अडियो सार्वजनिक गर्ने अनलाइन 'सीधाकुरा'का प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना थिए ।

कँडेल र ढुंगाना भने यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । फरार रहेका तिमल्सिनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । ‘डार्क फाइल’ नाम दिएर प्रसारण गरिएको अडियो फेक भएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले उनीहरूबाट कसुर भएको अभियोगसहित सरकारी वकिलको कार्यालयमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन पेस भएको थियो ।

प्रतिवादी तिमल्सिनाले सर्वोच्च अदालतका न्यायाधीश, प्रतिष्ठित कानुन व्यवसायी तथा सञ्चार उद्यमीहरूको मानमर्दन गर्ने गरी जानाजानी झूटो अडियो उत्पादन गरेको र त्यसको सत्यतथ्य नै नबुझी ‘सिधाकुरा’ ले सनसनी रूपले प्रसारण गरी भ्रम फैलाएबाट विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ र मुलुकी अपराध संहिता २०७४ को दफा १६८ विपरीतको कसुर भएकाले साेही अनुसार सजाय मागदावी गरिएकाे थियाे ।

यस प्रकरणमा सर्वाेच्च अदालतमा पनि तीनै जनाविरुद्द अदालतकाे अबहेलनाकाे मुद्दा समेत विचाराधीन छ । यस्तो झूटा सामग्रीलाई ‘चार सय भ्रष्टाचार मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ शीर्षकमा गत वैशाख १४ मा सिधाकुराको युट्युब च्यानलबाट प्रसारण गरिएकाे थियाे ।

अवहेलना मुद्दामा स्टिङ अपरेसन गरेका भनिएका तिमल्सिना र भ्रामक अडियोमा आरोपित गरिएका व्यक्तिलाई पनि जवाफ पेस गर्न आदेश गरिएको थियो । सर्वोच्चको आदेशपछि सीआईबीलाई अडियो परीक्षण गर्न दिएको थियो । त्यसपछि साइबर ब्युरोका निर्देशक डीआईजी नविन्द अर्यालको नेतृत्वमा वैशाख २४ मा समिति नै बनाएर अडियो जाँच गराइएकोमा प्रयोगशाला परीक्षणले सिधाकुरामा प्रसारित अडियो झूटा भएको र यसमा संलग्नविरुद्ध तीनवटा कसुरमा अनुसन्धान गरी कारबाही गर्नुपर्ने राय पेस गरेको थियो ।

अर्यालको समितिले गत जेठ ११ मा बुझाएको प्रतिवेदन सीआईबीले सोही दिन प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई प्रतिवेदन बुझाएको थियो । सोहो प्रतिवेदनअनुसार सरकारी वकिल कार्यालयले तिमल्सिनासहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

सम्बन्धित समाचार :

सिधाकुराको सामग्री ‘फेक’ प्रमाणित

डार्क फाइलमा बृहत् पूर्ण इजलासको फैसला आउँदै : अभिव्यक्ति स्वतन्त्रता र अदालतको अवहेलनाबीच सन्तुलनमा विज्ञको चासो

सिधाकुरामा ‘फेक’ सामग्री प्रकाशित गर्ने तीनजनाविरुद्ध काठमाडौं जिल्ला अदातलमा मुद्दा दायर


प्रकाशित : भाद्र ५, २०८१ १८:४१
x
×