कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

थामे बाढीबारे प्रधानमन्त्री ओलीले लिए जानकारी, मानवीय क्षति रोक्नमा ध्यान दिन सीडीओलाई निर्देशन

श्रावण ३२, २०८१
थामे बाढीबारे प्रधानमन्त्री ओलीले लिए जानकारी, मानवीय क्षति रोक्नमा ध्यान दिन सीडीओलाई निर्देशन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले थामे बाढीबारे जानकारी लिँदै मानवीय क्षति हुन नदिनेमा ध्यान पुर्‍याउन सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डेलाई निर्देशन दिएका छन् । 

शुक्रबार राति टेलिफोन संवाद गर्दै प्रधानमन्त्री ओलीले मानव जीवनको मूल्य बराबर अरु केही पनि नभएकाले त्यसमा विशेष ध्यान दिन सीडीओलाई निर्देशन दिएका हुन् । 'मानव जीवनको मूल्यबराबर अरु केही पनि कुरा छैन । धनमालको क्षति त भइहाल्यो । त्यसलाई सरकारले राहत उपलब्ध गरौंला । पुन:निर्माण गरौंला । अरु पनि क्षति हुन नपाओस् । तर सबभन्दा बढीचाहिँ मानवीय क्षति हुन नपाओस् भन्नेमा ध्यान दिनुहोस्,' ओलीको निर्देशन थियो ।

सेना, प्रहरी, जनप्रतिनिधि, नेता, कार्यकर्ता, स्थानीयले सकेसम्म उद्धार गर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट उद्धार तथा राहतमा कुनै कमी हुन नदिन सीडीओ पाण्डेको ध्याकर्षण गराए । प्रधानमन्त्री ओलीले छिटो राहत पुगोस् र मान्छेको भोकै नपरुन्, भरसक मान्छे कठ्यांग्रिएर मर्न नपरोस् भन्नेमा ध्यान दिन पनि सीडीओ पाण्डेलाई निर्देशन दिए । साथै प्रभावित क्षेत्रका नागरिक कसैले नियमित औषधि सेवन गरिरहेको भए त्यसबारे छिटो जानकारी दिन र आवश्यक परे काठमाडौंबाट औषधि पठाउने प्रबन्ध मिलाउने समेत प्रधानमन्त्री ओलीले बताए ।

शुक्रबार थामे खोलाको शीरबाट आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा १२ घरसहित विद्यालय र क्लिनिकमा क्षति पुगेको छ । बाढीमा एक स्थानीय बेपत्ता र ७ घर जोखिममा रहेको सीडीओ पाण्डेले प्रधानमन्त्रीलाई जानकारी गराएकी छन् ।

प्रभावित क्षेत्रमा सेना र प्रहरीले उद्धार जारी राखेका छन् । तल्लो थामेमा विपद् आएको र त्यहाँका प्रभावित १ सय ५० जनालाई उपल्लो थामेका होटल र आफन्तकहाँ सुरक्षित रुपमा राखिएको सीडीओ पाण्डेले जानकारी गराइन् ।

प्रभावित क्षेत्रमा जाने बाटो, पुलहरुमा क्षति पुगेको जनाउँदै मौसमले साथ दिए शनिबार हेलिकप्टरमार्फत राहत लिएर त्यहाँ जाने उनले जनाइन् । उनका अनुसार काठमाडौंबाट रक्षामन्त्री मानवीर राईसहितका टोली पनि शनिबार थामेमा पुग्ने योजना छ ।

बाढी के कारणले आयो भन्ने एकिन भइनसकेको समेत उनले बताइन् ।

प्रकाशित : श्रावण ३२, २०८१ २२:५३
×