जहाज दुर्घटनाका कारणबारे सरकारले छानबिन गर्छ : गृहमन्त्री लेखक

श्रावण ९, २०८१

कान्तिपुर संवाददाता

The government will investigate the cause of the ship accident: Home Minister Author

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका विषयमा सरकारले छानबिन गर्ने बताएका छन् । बुधबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको स्थलगत अवलोकनपछि गृहमन्त्री लेखकले दुर्घटनाका विषयमा सरकारले छानबिन गर्ने बताए ।

उनले दुर्घटनालगत्तै सरकारको दायित्व पूरा गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धारको कार्य गरेको भन्दै प्रशंसा गरे । 

'यो दुर्घटना हो । जे भयो, दु:खद् भएको छ । जहाजमा रहेका १९ जनामध्ये १८ जनाको निधन भएको छ, मृतक सबै सौर्य एयरलाइन्ससँगै आबद्धहरु भएको कुरा आएको छ,' गृहमन्त्री लेखकले भने, 'दुर्घटनापछि तत्कालै गर्नुपर्ने उद्धारको काम सरकारले पूरा गरेको छ । अब के कारणले यस्तो दुर्घटना भयो? भन्नेबारे छानबिन गर्छ ।'

उनले छानबिनबाट प्राप्त तथ्यहरुले नै जहाज दुर्घटनाको पछिका अन्य कुराहरु खुलाउने बताए । गृहमन्त्री लेखकले दुर्घटनाका कारणबारे अध्ययन गरेर त्यस्तो दुर्घटना फेरि हुन नदिनका लागि सरकारले ठोस पहल गर्ने बताए । 'दुर्घटना किन भयो ? कसरी भयो ? यसको अध्यायन गर्नुपर्छ ।  अध्ययन गरिसकेपछि दुर्घटना नहुनेतर्फ ठोस कदम चाल्नुपर्छ । हवाइ दुर्घटना न्यूनीकरणका लागि नीतिगत, कानुनी, प्राविधिक र जनशक्ति लगायतका कुरामा ठोस रुपले सरकारले काम गर्छ,' उनले भने । 

सौर्य एयरलाइन्स जहाज दुर्घटना

कान्तिपुर

Link copied successfully