कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

केपी शर्मा ‌ओली प्रधानमन्त्री नियुक्त

केपी शर्मा ‌ओली प्रधानमन्त्री नियुक्त

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ‌ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
राष्ट्रपतिले दिएको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिएपछि राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री ओलीको शपथ सोमबार ११ बजे हुने तय गरिएको छ ।

ओली २०४८ सालबाटै संसदमा निर्वाचित हुँदै आएका ओली हाल झापा ५ का सांसद हुन् । उनले २०६४ सालको संविधान सभा चुनाव बाहेक अन्य सबै जित्दै आएका छन् । ओली पहिलोपटक ०५१ मा मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमा गृहमन्त्री भए भने दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भएका थिए ।

त्यसपछि उनी २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बने । २०७४ मा दोस्रो र २०७८ सालमा केही समयका लागि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बने । २०७१ सालको नवौं महाधिवेशपछि १० वर्षदेखि ओली एमालेको अध्यक्ष छन् ।

चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

कांग्रेस र एमाले मन्त्रालय भागबन्डा र मन्त्रीहरूको छनोटमा व्यस्त छन् । मधेशकेन्द्रित पाँच दल जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी (नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई पनि सोमबार नै सरकारमा सहभागी गराउने गरी कांग्रेस र एमालेबीच समझदारी भएको छ ।

कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डामा करिब–करिब समझदारी बनिसकेको छ । कुल २१ मन्त्रालयमध्ये सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ८ मन्त्रालय र कांग्रेसले ९ मन्त्रालय लिने मोटामोटी समझदारी बनेको हो। बाँकी चार मन्त्रालय मधेशकेन्द्रित दललाई छुट्याइएको छ ।

कांग्रेसले गृह र परराष्ट्रका अतिरिक्त ऊर्जा–जलस्रोत तथा सिँचाइ, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन र अर्को कुनै एक मन्त्रालय लिने गरी छलफल अघि बढेको छ भने एमालेले अर्थ, सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, रक्षा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रालय लिने मोटामोटी समझदारी छ ।

प्रकाशित : असार ३०, २०८१ १७:३६
×