बजेटमा सुधार छैन, आर्थिक बेथिति रोक्न सक्दैन : कांग्रेस

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

There is no improvement in the budget, it cannot stop the economic crisis: Congress

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता समेत रहेका पूर्वअर्थमन्त्री प्रकाशशरण महतले बजेटमा कुनै सुधारका कार्यक्रम नरहेको र यसले बजेटको बेथितीलाई नरोक्ने बताएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले बजेट पेश गरेपछि संसद् भवनमा सञ्चारमाध्यमहरूलाई प्रतिक्रिया दिँदै पूर्थअर्थमन्त्री महतले ठूलो आकारको बजेट बनाउने कुरामा ब्रेक लागेपनि यो बजेट वास्तविकता भन्दा माथि रहेको बताए । 

'दशक लामो नै सुधार गर्ने भन्नु भएको छ । तर त्यो सुधार्ने कार्यक्रम छैन । बजेट कनिका छर्ने प्रबृत्तिका छ । यसले गर्दा ठूला आयोजना सम्पन्न हुने कुरामा शंका छ'  पूर्वअर्थमन्त्री महतले भने,'सुधारको बाटोमा जाने भन्नुभएको छ । तर सुधार कहाँ गर्ने भन्नुभएको छैन ।'

उनले अहिले बजेटका धेरै विषयहरू प्रस्तुत नभएको उल्लेख गर्दै पूर्ण पाठ आएपछि मात्र यसमा थप भन्न सकिने बताए । 

उनले स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाउने कुरा ठिक  नभएको बताए । त्यसरी हटाउँदा आन्तरिक व्यापारीलाई  कुनै सहयोग नहुने दाबी गरे । 'व्यापारीहरूको सेटिङको प्रभावमा त्यसलाई मद्दत हुनेगरी भ्याट हटाइएको छ' उनले भने । 

'विनियोजनमा प्राथमिकताको कुरा गर्नुभएको छैन । आफ्ना समर्थकका हकमा कता कहाँ के गर्नुभएको छ ख्याल गर्नुपर्छ'  उनले भने,'धेरै विषयवस्तु छुने कोसिस गरिएको छ, परिणाम आउने देखेको छैन । बजेटरी अनुसासनलाई अवरुद्ध पार्नु भएको छ । यो बजेटले जे बोलेको छ, त्यो पुरा हुन्न । बजेटमा देखिएको बेथितीको कार्ययोजना अघि बढाउने देखिन्न ।' 

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully