'नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण पक्राउ गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो ।'
काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको जनाएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सिरोहियालाई पक्राउ गरिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'लोकतन्त्रको पक्षमा लामो समयदेखि संघर्ष गरेको कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार हो भन्ने हाम्रो ठम्याइ छ ।'
अध्यक्ष यादवले नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण पक्राउ गर्नु दुर्भाग्यपूर्ण भएको पनि बताएका छन् । विज्ञप्तिमा अगाडि भनिएको छ, 'राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोकी निजलाई तत्काल रिहाइ गर्नुपर्दछ । आगामी दिनमा यस्ता पूर्वाग्रहपूर्ण घटना नदोहोर्याउन सरकारलाई सचेत गराइन्छ ।'
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।
स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।
मंगलबार कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापिएको थियो । लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
कान्तिपुर कार्यालय परिसरमा पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी, नागरिक अगुवा, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिका बीचमा बर्दीधारी प्रहरीले सिरोहियालाई लगेका हुन् ।
