कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

'प्रतिपक्षमा रहँदा स्वतन्त्रताको वकालत र सत्तामा पुग्दा मिडियाको घाँटी निमोठ्ने संस्कृति बन्यो'

'कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी स्वतन्त्र मिडियालाई तर्साउने अस्त्रका रुपमा प्रयोग गरिएको त होइन ?'

काठमाडौँ — पत्रकारिताका अध्यापकहरूको समूहले स्वतन्त्र मिडियालाई तर्साउनका लागि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी गरिएको बताएका छन् । मिडिया एडुकेटर्स सोसाईटीमा आबद्ध पत्रकारिताका अध्यापकहरूले कान्तिपुर दैनिकको कार्यालयमा आएर बुधबार अध्यक्ष सिरोहियाको पक्राउको विरोधमा ऐक्यबद्धता जनाउँदै 'प्रतिपक्षमा रहँदा स्वतन्त्रताको वकालत र सत्तामा पुग्दा मिडियाको घाँटी निमोठ्ने संस्कृति बनेको बताए ।

'प्रतिपक्षमा रहँदा स्वतन्त्रताको वकालत र सत्तामा पुग्दा मिडियाको घाँटी निमोठ्ने संस्कृति बन्यो'

'लोकतान्त्रिक मुलुकहरूमा स्वतन्त्र मिडियाको प्रबर्द्धन गर्ने राज्यको नीति हुने गर्छ । तर, नेपालमा प्रतिपक्षमा रहँदा स्वतन्त्रताको पक्षमा वकालत गर्ने र सत्तामा पुग्दा मिडियाको घाँटी निमोठ्ने संस्कृति बनेकोमा हामी चिन्तित छौं,' सोसाइटीले भनेको छ, 'कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी स्वतन्त्र मिडियालाई तर्साउने अस्त्रका रुपमा प्रयोग गरिएको त होइन ?'

राजनीतिक नेतृत्व र सरकारबाट पछिल्लो समय बारम्बार पत्रकारिता जगतमाथि लान्छना र आक्षेप लगाउने प्रवृति पनि बढेकोप्रति ध्यानाकर्षण भएको पत्रकारिता अध्यापन गराउने प्राध्यापकहरूको भनाइ छ । पत्रकारिताका अध्यापकहरू बद्री पौडेल, डा. कुन्दन अर्याल, डा. श्रीराम पौडेल, डा. जगत नेपाल, ऋषिकेश दाहाल, लेखनाथ पाण्डे र लोकेन्द्र केसीले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीविरुद्ध ऐक्यबद्धता जनाएका हुन् ।

पत्रकारिताको तेजोबध गरेर आफ्ना कमजोरीलाई लुकाउन राज्य संयन्त्र लागिपरेको पनि अध्यापकहरूको भनाइ छ ।

कान्तिपुरमा सहकारी ठगीका समाचार प्रकाशित भइरहेको बेला अध्यक्ष सिरोहियाको गिरफ्तारीलाई स्वाभाविक मान्न नसकिने अध्यापकहरूको भनाइ छ । 'पर्याप्त कानुनी आधारसहित सिरोहियाको नागरिकतामाथि अनुसन्धान र कानुनी प्रकृया अगाडि बढाउने राज्यको क्षेत्राधिकार हो । तर, कान्तिपुरमा सहकारी ठगीबारे लगातार समाचार प्रकाशित भइरहेकै बेला सिरोहियाको गिरफ्तारी हुनुलाई स्वभाविक मान्न सकिन्न । कुनै पनि बहानामा प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको आलोचना गर्ने अधिकार कुन्ठित नहोस् भन्नेमा हामी सचेत छौं,' उनीहरूको भनाइ छ, 'हामी चाहन्छौं सिरोहियाको गिरफ्तारीका कारण कान्तिपुर आफ्नो सम्पादकीय धर्म र निष्पक्ष भूमिकाबाट विचलित नबनोस् ।'

अध्यापकहरूले सरकार र सबै राजनीतिक दललाई लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहन आग्रह गर्दै स्वतन्त्र मिडियाको भूमिका कमजोर बनाउँदा लोकतन्त्र सवल हुन नसक्ने यथार्थ मनन गर्न पनि अपील गरेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०८१ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?