कान्तिपुर दैनिकमाथि सरकारको नियोजित प्रहार : प्रजातान्त्रिक विचार समाज

जेष्ठ ९, २०८१

कान्तिपुर संवाददाता

Government's Planned Attack on Kantipur Daily: Democratic Thought Society

काठमाडौँ — प्रजातान्त्रिक विचार समाजले कान्तिपुर दैनिकमाथि सरकारले नियोजित रुपमा प्रहार गरेको ठहर गरेको छ । आर्थिक, नीतिगत भ्रष्टाचार एवं अख्तियार दुरुपयोगका समाचार प्रकाशित गर्दै आएको कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले पूर्वाग्रहीपूर्वक गिरफ्तार गरेको समाजले जनाएको छ ।

समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले विज्ञप्ति जारी गर्दै समाचार लेखेको प्रतिशोध लिन गृहमन्त्री रवि लामिछानेको इसारामा अध्यक्ष सिरोहियालाई प्रक्राउ गरिएको उल्लेख छ । प्रेसको संवैधानिक स्वतन्त्रता र जनताले थाहा पाउने अधिकारमाथि प्रहार गर्ने गृहमन्त्री तथा सरकारको कदमको निन्दा गर्दै समाजले तानाशाही प्रयत्न तुरुन्त सच्याउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह समेत गरेको छ । ‘अन्यथा आउने दुष्परिणामको जिम्मेवारी सरकार र सरकारमा सामेल गठबन्धन दलहरूले समेत लिनुपर्ने धारणा प्रजातान्त्रिक विचार समाज व्यक्त गर्दछ । साथै आफ्नो कुकर्मबाट त्रसित सरकारका पदासीनहरूको कायरताजन्य दमनकारी रबैयाको प्रतिरोध गर्न स्वतन्त्रताप्रति सचेत नागरिक सबैमा हार्दिक अपिलसमेत गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हालका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आधा दर्जन सहकारी संस्थाको रकम अपचलन गरेको प्रमाणित हुने कागज पत्र सहित कान्तिपुरले जनतालाई सुसूचित गरेको प्रतिशोध लिन गृहमन्त्रीको इसारामा अध्यक्ष सिरोहियालाई प्रक्राउ गरिएको र पत्रकारिताको स्वतन्त्रता एवं अभिव्यक्ति स्वतन्त्रता माथि निर्मम र निर्लज्ज प्रहार गरिएको ठम्याइ प्रजातान्त्रिक विचार समाजको छ ।’

कान्तिपुरलाई निरुत्साहित गर्ने सरकारको उद्देश्यमा नेपालको समग्र पत्रकारिता क्षेत्रको स्वतन्त्रता, निर्भिक र तथ्य प्रकाशन, प्रसारणलाई नै दमन र निशाना बनाउन खोजेको स्पष्ट सन्देश दिएको जनाइएको छ । ‘गृहमन्त्री लामिछानेको दोहोरो पासपोर्ट र नागरिकता तथा सहकारीको रकम अनधिकृत प्रयोग गरेको खोजमूलक समाचार प्रकाशित गरको कारण प्रेस जगतलाई तर्साउने, धम्काउने र निरुत्साहित गर्ने उद्देश्य प्रेरित रबैयाले सरकार अधिनायकवादी, तानाशाही बाटोतिर लागेको सार्वजनिक वृत्तले महसुस गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । गिरिबन्धु टि इस्टेटमा नीतिगत र सम्भावित आर्थिक भ्रष्टाचारको खोजी समाचार कान्तिपुरले प्रकाशित गरेको कारण पनि कान्तिपुरकर्मीमाथि नियोजित प्रहार गरिएको प्रजातान्त्रिक विचार समाजले जनाएको छ । 

प्रेसविरुद्ध राज्य प्रतिशोध

कान्तिपुर

Link copied successfully