कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सिरोहिया त्यत्तिकै नेपाली नागरिक हुन् जति जनकपुरधाम नेपालको हो : पूर्वन्यायाधीश लाल

'लोकतन्त्रमा विश्वास गर्नेले आफ्नो आलोचनाको कुराभन्दा धेरै बढी अभिव्यक्तिको स्वतन्त्रतामा विश्वास गर्नु पर्दछ'

काठमाडौँ — सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले लोकतन्त्र र स्वतन्त्र प्रेस एक अर्काका पुरक र सहयात्री भएको बताएका छन् । नागरिकतामा गल्ती देखिएका छन् भने त्यो व्यक्ति नै नेपालको नागरिक होइन भन्न नमिल्ने उनको भनाइ छ । यस्ता विषयलाई लिएर अपमान गर्न नहुने उनको भनाइ छ ।

सिरोहिया त्यत्तिकै नेपाली नागरिक हुन् जति जनकपुरधाम नेपालको हो : पूर्वन्यायाधीश लाल

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले मंगलबार कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको विषयलाई लिएर सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।

'जहाँसम्म कान्तिपुरको अध्यक्ष कैलाश सिरोहियाको नागरिकताको प्रश्न हो, त्यो मलगायतका जनकपुरका सबै समसामयिक बासिन्दाले एक स्वरमा भन्न सक्छन् कि कैलाश सिरोहियाका पिता स्व. घासीरामज्यू जनकपुरधामका बासिन्दा र एउटा राम्रो व्यापारी थिए र कैलाश सिरोहिया त्यतिकै नेपालका नागरिक हुन् जत्ति जनकपुरधाम नेपालको हो,' पूर्वन्यायाधीश लालले लेखेका छन्, 'जहाँसम्म नागरिकतामा जन्म मितिको वा नागरिकता नम्बर गलत उल्लेख भएको कुरा हो त्यस्तो गल्ती धेरै नागरिकता प्रमाणपत्रमा रहेको पाइन्छ । तर त्यसको कारणले त्यो प्रमाणपत्र धारक नागरिक नै होइन भन्न मिल्दैन ।'

नागरिकताका सम्बन्धमा कानुनी उपचार खोज्नु जरुरी रहे पनि त्यसै आधारमा कुनै व्यक्ति नेपाली नागरिक नै होइन भनेर जाइलाग्न नहुने पूर्वन्यायाधीश लालको भनाइ छ । 'यस सम्बन्धमा कानुनसम्मत उपचार खोज्नु र हुनु जरूरी छ । तर, त्यसले गर्दामात्र त्यो व्यक्ति नेपालको नागरिक नै होइन भन्ने गरी जाइलाग्नु नेपालको नागरिकलाई नै अपमान गर्नु हो । यस्ता अपमानजनक कुरा गर्नेहरूले आफूलाई जत्तिनै राष्ट्रवादी भनुन्, तर तिनीहरूले गर्दा हाम्रो आन्तरिक एकतामा आघात पुगीरहेको प्रत्यक्ष अनुभव गर्न सकिन्छ,' उनले भनेका छन्, 'हाम्रो नेपाल मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मको हो र यस क्षेत्रमा जन्मेका, पैतृक बसोबास भएको र आफूलाई हृदयदेखि नेपाली ठानेका सबै नेपाली हुन् ।'

पूर्वन्यायाधीश लालले कान्तिपुर मिडियाले आफ्नो आलोचनामा पटकपटक लेखेको पनि स्मरण गरेका छन् । उनले लेखेका छन्, 'कान्तिपुरले पटक-पटक मेरोविरूद्ध लेखे पनि मैले कान्तिपुरविरूद्ध वा कुनै अन्य पत्रकारविरूद्ध कुनै कारबाही गर्ने चेष्टा कहिले पनि गरेको छैन, किनभने लोकतन्त्रमा विश्वास गर्नेले आफ्नो आलोचनाको कुराभन्दा, धेरै बढी अभिव्यक्तिको स्वतन्त्रतामा विश्वास गर्नु पर्दछ । यस्ता कुराले व्यक्तिगत रूपमा पनि मप्रतिको जन विश्वासमा वृद्धि नै गरेको छ । मेरो यो पनि मान्यता छ कि, सबै प्रकारका आलोचनालाई सकारात्मक रूपमा लिनु पर्दछ र त्यसले अन्ततः आफ्नो भलो नै गर्दछ ।'

कान्तिपुर मिडिया ग्रुपको भूमिका लोकतन्त्रप्रति सधै सकारात्मक रहेको पनि पूर्वन्यायाधीश लालले लेखेका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।

स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।

मंगलबार कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापिएको थियो । लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कान्तिपुर कार्यालय परिसरमा पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी, नागरिक अगुवा, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिका बीचमा बर्दीधारी प्रहरीले सिरोहियालाई लगेका हुन् ।

प्रकाशित : जेष्ठ ९, २०८१ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×