कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ विषयमा रास्वपाको समर्थन

काठमाडौँ — सहकारीमा सर्वसाधारणले जम्मा गरेको बचतबाट कम्तीमा ९५ करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याएर अपचलन गरेको समाचार प्रकाशित गरेको प्रतिशोधमा सार्वजनिक मञ्च र संसद्बाट समेत मिडिया र प्रतिपक्षलाई धम्क्याउँदै आएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रत्यक्ष हस्तक्षेपमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ ।

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ विषयमा रास्वपाको समर्थन

रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य आफ्नो जानकारीमा आएको बताएको छ ।

'विधिको शासनको अर्को सौन्दर्य हो: 'कानुन भन्दामाथि कोही हुँदैन ।' जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित हो । 'कोही-कोहीलाई छुनै हुन्न' भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ,' विज्ञप्तिमा भनिएको छ ।

आफ्नै सभापति लामिछानेको सहकारी विवाद तथा राहदानी दुरुपयोगको मुद्दालाई सत्ताको सौदाबाजीमा मिलाएको रास्वपाले सञ्चार उद्यमी सिरोहियालाई पक्राउ गरेको विषयमा भने 'नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्,' भन्दै टिप्पणी गरेको छ । 'अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन,' डा. ढकालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले सिरोहियाका नाममा जारी गरेको नागरिकता नम्बर अर्को व्यक्तिसँग मिलेको भन्दै प्रहरीले धरपकड गरेको हो । गृहमन्त्रीको पार्टी रास्वपाका मधेस प्रदेश कार्यसमितिका सदस्य इन्द्रजितप्रसाद महतोलाई सिरोहियाविरुद्ध उजुरी गर्न लगाइएको थियो । उजुरीको योजना बुन्न रास्वपाका सहकोषाध्यक्ष तथा गृहमन्त्री लामिछानेका स्वकीय सचिव दीपक बोहरा तीन सातादेखि जनकपुरमा खटिएका थिए । तत्कालै पक्राउ पुर्जी जारी गराउन नसकेपछि बोहरा काठमाडौं ओहोरदोहोर गरिरहेका थिए ।

सिरोहियालाई पक्राउ गर्ने योजना प्रचार गरेर मनोवैज्ञानिक दबाब दिँदा पनि कान्तिपुरले सहकारी ठगीलगायतका बेथितिका विषयमा निरन्तर समाचार प्रकाशित गर्दै गरेपछि लामिछानेले सार्वजनिक रूपमा धम्क्याउँदै आएका थिए ।

प्रकाशित : जेष्ठ ९, २०८१ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×