राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

वैशाख ११, २०८१

रासस

Dinner hosted by the President in honor of the Emir of Qatar

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा मंगलबार साँझ यहाँ रात्रिभोजको आयोजना गरे । उक्त अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । 

रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो । त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको सहभागिता थियो । 

कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आज अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । राष्ट्रपति पौडेलले विमानस्थलको अतिविशिष्ट कक्षमा उनको स्वागत गरेका थिए । कतारका अमिर विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो । बुधबार दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताको कार्यक्रम छ ।

Dinner hosted by the President in honor of the Emir of Qatar

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा मंगलबार साँझ आयोजना गरेको रात्रिभोजमा सहभागीहरु । तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय / रासस

रासस

Link copied successfully