कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

क्रिकेटर रुबिना भन्छिन् : म यहाँसम्म आउनुमा राज्यभन्दा घरकै लगानी बढी छ

काठमाडौँ — राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्वकप्तान रुबिना क्षेत्री बेल्बासे कुनै क्षेत्र चुनौतीपूर्ण रहे पनि परिवर्तन आफैंले ल्याउन सक्नुपर्ने बताएकी छन् । कान्तिपुर पब्लिकेसन्स लिमिटेडले बुधबार आयोजना गरेको 'निर्भीक नारी कार्यक्रमको 'नेतृत्वमा नारी परम्परालाई भारी' शीर्षकमा भएको छलफलबीच रुविनाले क्रिकेट क्षेत्रलाई नेतृत्व गर्दा चुनौतीबारे बताएकी हुन् ।

क्रिकेटर रुबिना भन्छिन् : म यहाँसम्म आउनुमा राज्यभन्दा घरकै लगानी बढी छ

'१२ वर्ष यो क्षेत्रलाई नेतृत्व गरिरहँदा एक समय क्रिकेट एसोसियसन बन्द थियो, त्यतिबेला हामीलाई बाँच्नलाई एकदम कठिन थियो । त्यतिबेला कति त यो क्षेत्रमा भविष्य छैन भन्ने सोचले पलायन पनि हुनुभयो । तपाईं आफैंले केही परिवर्तन ल्याउँछु भनेर सोच्नुको अर्को विकल्प छैन,'रुबिनाले भनिन्,'पुरुष र महिला दुवैलाई चुनौति हुन्छ । तर तपाईंले आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ र कत्तिको अगाडि बढ्ने तपाईंसँग सोच र क्षमता छ भन्ने प्रमुख हो । पहिला त म महिला हुँ भनेर सोच्दै नसोच्नु । म एक व्यक्ति हुँ र मेरो मिहेनत र लगनशीलताले एउटा राम्रो प्लाटफर्म सिर्जना गर्न सक्छु भनेर सोच्नुपर्‍यो ।'

रुबिना व्यक्ति आफैंले परिवर्तन ल्याउन सक्ने अनुभव सुनाउँछिन् । 'हालैको मेरो उदाहरण, भर्खरै मैले सेन्चुरी हानेर आएपछि महिला क्रिकेटको रणनीति नै परिवर्तन भएको देखें । एकजना व्यक्तिले म परिवर्तन ल्याउँछु भनेर लाग्नुभयो भने त्यो प्लाटफर्ममा परिवर्तनसँगै त्यसमा पनि सुधार हुँदै जान्छजस्तो लाग्छ,'उनले भनिन् ।

आफूमा राष्ट्रको भन्दा घरकै लगानी बढी लागेको रुबिना बताउँछिन् । 'मेरो बुवा हुनुहुन्न । सानैदेखि आमाले दु:ख गरेर आमाले यहाँसम्म पुर्‍याउनु भएको हो । त्यतिबेला पुरुषको दबदबा धेरै थियो, म सबै केटाहरूसँग खेल्थें । म यहाँ आउनुमा आमाकै धेरै हात भएकाले ममा राष्ट्रको भन्दा घरकै लगानी बढी छ भन्छु,'उनले भनिन्,'खेलबाट राष्ट्रलाई चिनाउँदै गएपछि राष्ट्रले त्यही अनुसारले लगानी गर्नुभयो । तर, क्रिकेटमा मात्रै होइन खेलकुदमै पनि जुन लगानी छ त्यो पुगेको छैन । आफू स्थापित नभइसकेसम्म परिवारले नै साथ दिने हुँदा घरबाट सुरुमा लगानी हुन्छ अनि मात्र राष्ट्रको लगानी हुन्छ भन्छु ।'

आमाबाटै आफूले नेतृत्वको सीप सिकेको पनि रुबिनाले बताइन् । सबै विदेसिरहँदा आफू लिडरसिपमा आएर महिला क्रिकेटको रणनीति नै परिवर्तन गर्ने उद्धेश्य बोकेको पनि रुबिना सुनाउँछिन् । 'मेरो आमा एक्लै हुनुभएर दादा र मलाई हुर्काउनुभयो । मेरो आमा राम्री पनि हुनुहुन्थ्यो । कति पुरुषले अप्ठ्यारोमा पार्न खोज्ने देख्दा पनि मेरो आमाले आफ्नो सन्तानलाई पढाउँछु भनेर लाग्नुभयो । त्यसैले मैले मेरो आमामा नै त्यो रोल मोडल भेटें,'उनले भने,'संघर्ष गरेर आमाले जसरी एक्लैले म र दाइलाई पढाउनु भयो, एक्लै पनि गर्न सक्छु भन्ने उदाहरण बन्नुभयो । अहिले मलाई पनि एक्लैले गर्न सक्छु भन्ने लाग्छ ।'

प्रकाशित : चैत्र २९, २०८० १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×