सौन्दर्य मानक विषाक्त धारणा हो : जेन दीपिका ग्यारेट 

चैत्र २९, २०८०

कान्तिपुर संवाददाता

Beauty standards are toxic perceptions: Jane Deepika Garrett

काठमाडौँ — 'मिस युनिभर्स नेपाल २०२३' जेन दीपिका ग्यारेट सौन्दर्य मापदण्डको गलत धारणा शिक्षाको माध्यमबाट हटाउन सकिने बताएकी छिन् । कान्तिपुर पब्लिकेसन्सले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रम 'निर्भीक नारी'को चोथो सत्र ‘सौन्दर्य मापन’ मा उनले  गलत धारणा मानिसको सोचाइबाट हटाए मात्र समाजबाट हट्ने तर्क गरिन् ।

'हरेक व्यक्ति फरक छ, उनीहरु फरक देखिन्छिन् । मलाई थाहा छैन, हाम्रो समाजमा सौन्दर्यको मापदण्ड कसरी रहन गयो, जहाँ कुनै मानिस निश्चित ढंगको देखिनुपर्छ । यो त विषाक्त धारणा न हो, यस्तो सोचले नै मानिसहरु सर्जरी गर्छन् । आफूलाई परिवर्तन गर्न खोज्छन्,' उनले भनिन्, 'त्यसैले यस्तो किसिमको सोच हामीले मानिसबाट हटाउनुपर्छ, यदि हामीले त्यो सोच मानिसबाट हटाउन सकेनौं भने समाजबाट सौन्दर्यको मापदण्ड कसरी हटाउन सक्छौं ।' 

आफूले सौन्दर्य मापदण्डमाथिको गलत बुझाइबारे सामाजिक सञ्जालमार्फत सन्देश दिइरहेको पनि ग्यारेट सुनाउँछिन् । 'म अहिले सामाजिक सञ्जालबाट मेरो कर्भी शरीरलाई म कत्ति मन पराउँछु भनेर भनिरहेको हुन्छु । कोही जो फरक छन्, पृथक देखिन्छन्, उनीहरु सुन्दर छन् र उनीहरुलाई स्वीकार्नुपर्छ भन्ने सन्देश फैलाइरहेको छु,' उनले भनिन्, 'त्यसैले शिक्षाबाट नै हामीले हाम्रा विद्यार्थीलाई आफूलाई स्वीकार्न सिकाउनुपर्छ ।'  

मिस युनिभर्स नेपालमा आबद्ध हुन खोज्दा सुरुमै परिवारबाट आफूमाथि विश्वास नगरेको ग्यारेटको अनुभव छ ।  'मेरो बुवाले नै मिस युनिभर्समा जाने मेरो निर्णय सुनेर, मजाक नगर भन्नुभयो,' उनले भनिन् ।

मिस युनिभर्स नेपालका लागि कसैले नपत्याइदिँदा आफूलाई प्रमाणित गर्छु भन्ने ग्यारेटमा भावना जाग्यो । 'हो, म कतै सौन्दर्य मापदण्डमा पर्दिनँ थिएँ । तर, मैले आफूलाई त्यसमा लगाइरहें । तर, म अगाडि बढिरहें । यदि मैले त्यतिबेलै हार खाएको भएँ, यहाँसम्म आइपुग्दिन थिएँ,'उनले भनिन्,'त्यसैले हामीले आफैंलाई प्रेम गर्नुपर्छ । र आफैलाई विश्वास गरेर अगाडि बढ्नुपर्छ ।'

कान्तिपुर

Link copied successfully