'कसैले कपी गर्ला कि भनेर नयाँ आइडियामा काम गर्न डराउनु पर्दैन'

चैत्र २९, २०८०

कान्तिपुर संवाददाता

'Don't be afraid to work on a new idea in case someone copies it'

काठमाडौँ — एलोइ ग्लोबलकी सहसंस्थापक तथा चिफ टेक्निकल अफिसर सोनिका मानन्धरले कुनै पनि नयाँ आइडिया अभ्यास गर्न डराउन नहुने बताएकी छिन् । कसैले कपी गर्ला कि भनेर डराउनुनपर्ने उनको भनाइ छ ।

कान्तिपुर पब्लिकेसन्स लिमिटेेडले बिहीबार आयोजना गरेको 'निर्भीक नारी' को तेस्रो सत्र 'सूचना प्रविधिका सारथि' मा उनले भनिन्, 'आइडियामा अभ्यास गरिहाल्न डराउनु हुँदैन, अझ कसैले कपी गर्ला कि भनेर डराउनु हुँदैन,  कसैले कपी गरिहाल्न सजिलो छ भने  मान्नोस्- त्यो खास आइडिया थिएन ।'

वित्तीय पहुँचमा महिलाहरूको बढीभन्दा बढी सहभागिता गराउनुपर्नेमा पनि मानन्धरले जोड दिइन् । ‘त्यसै अनुरुप हामीले एसएमएसबाट चल्ने एप बनायौँ । प्रविधि हामीले दैनिक प्रयोग गरिरहेका छौँ । तर ग्रामीण भेगका महिलालाई लक्षित गरी एप बनाइएको छ,’ उनले भनिन् ।

डिजिटल वित्तीय प्रणालीमा ग्रामीण महिलाहरूको पहुँचलाई सहज बनाउन एसएमएसबाट चल्ने एपको विकास गरिएको उनको भनाइ छ । ‘प्रविधिले उहाँहरूलाई सहज बनाउनुपर्नेमा झन गाह्रो बनाइरहेको कारण प्रविधि सबैको पहुँचमा हुनुपर्छ भनेर टेक्नोलोजीको विकास गरेका हौं । जुन हरेक महिला उद्यमीहरूले चलाउन सक्छन्,’ उनले भनिन् । जसले प्रविधिको प्रयोग गर्छन् उनीहरूका लागि सजिलो हुनुपर्ने समेत उनले बताइन ।

कान्तिपुर

Link copied successfully