काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिक प्रणाली महिलाहरूका लागि हो भन्ने गलत भाष्य निर्माण भएको बताएका छन् ।
बिहीबार कान्तिपुर पब्लिकेसन्स लिमिटेडद्वारा आयोजित 'निर्भीक नारी' को पहिलो सत्र 'नेतृत्वमा नारी, परम्परालाई भारी' सत्रमा प्रमुख आयुक्त थपलियाले संविधान र कानुनको मर्मलाई आफ्नो अनुकूल बंग्याएर संसद्मा समानुपातिक प्रणाली भनेकै महिलाहरूका लागि हो भन्ने गलत भाष्य निर्माण भएको बताएका हुन् ।
०७२ सालमा जारी संविधानमा प्रतिनिधि र प्रदेशसभामा एक तिहाइ महिला प्रतिनिधित्व राख्ने र प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट ३३ प्रतिशत नपुगेमा समानुपातिकबाट ल्याउने व्यवस्था राखिएको उनले बताए । कानुन कार्यान्वयन गर्ने क्रममा प्रत्यक्षतर्फ महिलालाई उम्मेदवारी दिन प्राथमिकता नदिएर समानुपातिक प्रणालीको भार महिलालाई थोपरिएको बताए । ‘निर्वाचन कानुन बनाउँदा प्रत्यक्षतर्फ जोड नदिई समानुपातिकबाट ल्याउने भनियो र यस्तो भाष्य निर्माण गरियो,’ उनले भने,‘समानुपातिकबाट आउने भनेका त महिला नै हुन् भनेर गलत भाष्य बनाइयो ।’
संविधानतः स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमध्ये एकमा महिला हुनै पर्ने व्यवस्था छ । यो व्यवस्थाको पनि आफ्नोअनुकूल अभ्यास भइरहेको थपलियाले बताए । ‘के देखियो भने प्रमुखचाहिँ दिन हुँदैन उपप्रमुखचाहिँ सबै महिला हुनुपर्छ भन्ने भाष्य बनाइयो ।’
संसद्मा महिलालाई समानुपातिक र स्थानीय तहमा उपप्रमुख पदमा अटाउने अभ्यासलाई फेर्नुपर्ने उनले बताए । ‘अब समूल रूपले परिवर्तन गर्न जरुरी छ, हामी त्यो प्रक्रियामा छौं,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले थपे ।
