पूर्वउपराष्ट्रपतिका छोराहरू सुन तस्करीमा

तत्कालीन उपराष्ट्रपतिको स्वकीय अधिकृतको परिचयपत्र, प्रहरी तथा नगरपालिकाको नाता प्रमाणपत्रसमेत प्रयोग गरेर ल्याए चार किलो सुन

फाल्गुन २७, २०८०

सुदीप कैनी, मातृका दाहाल

Former Vice President's sons in gold smuggling

काठमाडौँ — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश यसअघि नै सुन तस्करी तथा सहकारी ठगीमा मुछिएका छन् भने अर्का छोरा जितेन्द्र पनि सुन तस्करीमै संलग्न भएको तथ्य फेला परेका छन् । तत्कालीन उपराष्ट्रपतिकै ‘जानकारी तथा संरक्षणमा’ उनको हैसियत दुरूपयोग गरेर जितेन्द्रले पटक–पटक सुन ल्याएको तर एक खेपमा ल्याएको चार किलोको पैसा चिनियाँ बिक्रेतालाई नदिएकोसमेत खुलासा भएको छ । 

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल(रेशम), पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकजस्तै पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश र जितेन्द्र पनि विभिन्न गैरकानुनी कारोबारमा सक्रिय थिए । भुटानी शरणार्थी प्रकरणमा सन्दीप अहिले धरौटीमा छन् भने प्रतीक फरार छन् । पूर्वउपराष्ट्रपतिका छोरा दीपेश अवैध उत्खनन, सहकारी ठगी र सुन तस्करीमा सहभागी भएको भनेर तथ्यसहित उजुरी परे पनि सरकारले उनलाई उन्मुक्ति दिँदै आएको छ । 

सुन तस्करीमा पूर्वसभामुखका छोरा राहुल पक्राउ परेपछि पूर्वउपराष्ट्रपतिका छोरा जितेन्द्र फरार छन् । उनले सुन तस्करीकै लागि तिब्बती नाकाबाट आवतजावत गर्न गृह मन्त्रालयबाट परिचयपत्र बनाएका थिए । तत्कालीन उपराष्ट्रपति कार्यालयको स्वकीय अधिकृतको परिचयपत्र, बाबुको परिचय खुल्ने गरी नगरपालिका र प्रहरी प्रधान कार्यालयबाट बनाएको फोटोसहितको दस्ताबेज र यस्तै दस्ताबेज धितो राखेर चिनियाँ बिक्रेतासँग सुन किन्न गरेको तमसुक होइन, तमसुक गर्दाको फोटो र भिडियो पनि कान्तिपुरले प्राप्त गरेको छ । 

माओवादी नेता पुन साढे ७ वर्ष नेपालको उपराष्ट्रपति बनेका थिए । २०७२ कात्तिक १४ देखि २०७४ चैत ४ सम्म पहिलो कार्यकाल र २०७४ चैत ५ देखि २०७९ चैत ६ सम्म दोस्रो कार्यकाल उनले सो ‘गरिमा’ पाएका थिए । यो बीचमा उनले छोराको कारोबारलाई सघाउन चिनियाँ व्यापारीलाई भटेको पनि खुलासा भएको छ । उनीहरूलाई विश्वस्त गराउन छोरा जितेन्द्रले उपराष्ट्रपति कार्यालयको अधिकृतका रूपमा औपचारिक परिचयको प्रतिलिपि पनि दिएका थिए । 

Former Vice President's sons in gold smuggling

उपराष्ट्रपति कार्यालयको स्वकीय अधिकृत खुल्ने परिचयपत्र

जितेन्द्रले चार किलो सुन उधारोमा किन्न २०७६ असोज १९ (६ अक्टोबर २०१९) मा चीनको सेन्जेन प्रस्पर मङ्कक कम्पनीसँग तमसुक गरेका थिए । करिब अढाई करोड नेपाली रुपैयाँ तिर्न उनले एक वर्षको म्याद लिएका थिए । जसको दैनिक ब्याज २० हजार र वर्षभरिको ७१ लाख निर्धारित गरिएको थियो ।

Former Vice President's sons in gold smuggling
Former Vice President's sons in gold smugglingचीनको सेन्जेन प्रस्पर मङ्कक कम्पनीसँग जितेन्द्रले गरेको तमसुक

यसरी साँबा र ब्याजसहित करिब सबा तीन करोडको यो सुन तस्करी गरेर ल्याउन रोल्पाको राङ्सी स्थायी घर भएका उनलाई गृह मन्त्रालयले हुम्ला निवासी भनेर नाका वारपार गर्ने परिचयपत्र बनाइदिएको थियो । 

Former Vice President's sons in gold smuggling गृह

मन्त्रालयले हुम्ला निवासी भन्दै बनाइदिएको व्यापार अनुमति पत्र 

एक वर्षभित्र सुनको पैसा नपाएपछि बिक्रेताले रकम उठाउन ताकेता गर्दा जितेन्द्रले पिता तथा तत्कालीन उपराष्ट्रपतिको हैसियत दुरूपयोग गरेर पन्छिएको अनुसन्धान अधिकारीहरूको भनाइ छ ।

पटक–पटक ताकेता हुन थालेपछि जितेन्द्रले आफ्ना बाबुको हैसियत देखिने थप दस्ताबेज, नेपाल प्रहरीका अधिकारी तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको तस्बिरसमेत पठाएर प्रभावित गरेका थिए । त्यसपछि पनि रकम नदिई जितेन्द्र सम्पर्कविहीन बनेका थिए ।

Former Vice President's sons in gold smuggling

जितेन्द्रले तीनदेखि पाँच पटकसम्म सुन ल्याएपछि आफूहरूलाई ठगेको चिनियाँ व्यापारीको भनाइ छ । कारोबारीले अर्कै एक व्यक्तिसँग गरेको वीच्याटमा पूर्वउपराष्ट्रपति पुनसँग परिचय भएपछि आफूले सुन दिएको तथा बाबुछोरा मिलेर आफूहरूलाई ठगेको जनाएका छन् ।

‘उनले (जितेन्द्र) पहिले हामीलाई उपराष्ट्रपति (नन्दबहादुर पुन) सँग भेट गराए । त्यसपछि उनी नेपालमा सुन व्यापार गर्ने भन्दै चीन आए । उपराष्ट्रपतिको नाम जमानी राखेर सुन फुत्काए । तीन पटक कारोबारपछि सुनको भुक्तानी नै दिएनन्, बरु सम्पर्कबाहिर रहे, ‘उनले वीच्याटमा लेखका छन्, ‘लाजै नमानी बसे, हामीलाई पछि थाहा भयो, यो त गैरकानुनी गिरोह रहेछ । भन्नलाई त उपराष्ट्रपतिले पनि चिनियाँ मान्छेको पैसा तिर्नुपर्छ भन्थे, तर दिएनन् । यो त अन्तर्राष्ट्रिय ठग–गिरोह हो । बाबु र छोराको मिलेमतो रहेछ ।’ 

Former Vice President's sons in gold smuggling

 पुनबाट ठगिएपछि चिनियाँ नागरिकको वीच्याट म्यासेज

पछिल्लो पटक २०८० असारमा हङकङबाट स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको करिब ६१ किलो र त्यसअघि २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करीमा पनि दीपेश मुछिएका थिए । भेप प्रकरणमा महरापुत्र राहुल र ब्रेक सु प्रकरणमा दीपेशको नाम प्रस्टै जोडिएको थियो । तर, ६१ किलो सुन ल्याउने तस्कर दावा छिरिङ र दावाजिन वाङसँग दीपेशको सम्पर्क र सम्बन्धका तथ्य प्रहरीले फेला पारे पनि उनलाई संरक्षण भइरहेको छ । 

दीपेशलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सामान्य बयान कागज मात्रै गराएर छोडेको थियो । सोधपुछका क्रममा प्रहरीले दीपेशको मोबाइल माग्दा ह्वाट्सएप/भाइवर, वीच्याटलगायत माध्यमको प्रयोग गर्ने मोबाइल लुकाएर ‘सामान्य फिचर फोन’ दिएका थिए । तस्करीको विवरण खुल्ने भयले उनले आफूले नियमित चलाउने मोबाइल लुकाएर अरू नै मोबाइल प्रहरीलाई दिएका थिए । दुवै तस्करी प्रकरणमा नेपाल प्रहरीले अनुसन्धान अघि बढाएसँगै जितेन्द्र विदेश गएका थिए ।

Former Vice President's sons in gold smuggling
पूर्वउपराष्ट्रपति पुन परिवारको नाता प्रमाणित कागज

काँचो सुन किनेर व्यक्तिगत रूपमा ल्याउन नेपालको कानुनले बन्देज गरेको छ । नेपालभित्र सुन चाहिए नेपाल राष्ट्र बैंक वा तोकिएका बैंकबाट व्यापारीले किनेर बिक्री गर्न पाउँछन् । पुन उपराष्ट्रपतिमै बहाल रहँदा उनको ‘कोर टिम’ मा रहेका जीवनकुमार गुरुङ पनि सुन तस्करी प्रकरणमै पक्राउ परेका छन् । पछिल्लो पटक २०८० मंसिर १९ गते विमानस्थलबाट बरामद १४ केजी सुन तस्करीको नेटवर्कमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गुरुङलाई गत फागुन १४ मा पक्राउ गरेको छ । 

गुरुङको आपराधिक नेटवर्कमाथि अनुसन्धान भइरहेको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए । ‘गुरुङलाई सुन तस्करी प्रकरणमा पक्राउ गरी विमानस्थल भन्सारको जिम्मा लगाइएको छ । बाँकी संगठित अपराधमा सीआईबीले सूक्ष्म अनुसन्धान गरिरहेको छ, यसबाहेक अरू कुरा अहिले नै भन्ने स्थिति छैन ।’ अनुसन्धानका क्रममा जोसुकैको संलग्नता देखिए पनि कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । तर, पूर्वउपराष्ट्रपति पुनका दुई छोराको तस्करी सञ्जालबारे भने उनी बोल्न चाहेनन् । 

त्यसो त, वर्तमान अर्थमन्त्री वर्षमान पुनको परिवारसँग पनि चिनियाँ सुन तस्करको समूहले सम्बन्ध राखेको खुलेको थियो । कान्तिपुरसँगको अन्तर्वार्तामा अर्थमन्त्री पुनले यो विषय आउनेबित्तिकै आफूले स्वतन्त्र रूपमा छानबिन गर्न प्रधानमन्त्रीलाई भनेको प्रस्टीकरण दिएका छन् । ‘यो विषय आउनेबित्तिकै मैले स्वतन्त्र रूपमा छानबिन होस् भनेर भनिसकेको छु । प्रधानमन्त्रीले सदनमै आफ्नै परिवारकै सदस्य भए पनि अनुसन्धान जारी राख्नू । दोषी कसैलाई छोडिँदैन भन्नुभएको छ,’ पुनले कान्तिपुरसँग भने, ‘प्रधानमन्त्रीकै पार्टीका धेरै मानिसको नाम आउँदा पनि अनुसन्धान रोकिएको छैन । बरु अरू पार्टीका सदस्यको नाम आउँदा अनुसन्धान अघि बढेको छैन । मेरा आफन्त वा परिवारका कुनै सदस्यको नाम आएमा कसलाई कहाँ बुझाउनुपर्ने हो, त्यसका लागि म तयार छु । अहिलेको अवस्थामा दोषी हुँदाहुँदै पनि बच्न सक्छु भन्ने भ्रम कसैले राख्नु हुँदैन ।’

सुन तस्करी प्रकरण

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully