सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरूलाई एमालेको आग्रह

वैशाख १० गते नेकपा स्थापना दिवस भव्य रूपमा मनाउने

फाल्गुन २५, २०८०

कान्तिपुर संवाददाता

UML urges other political parties to participate in government

काठमाडौँ — सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)ले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ ।  शुक्रबार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समीकरणले मुलुक विद्यमान संकटलाई समाधान गर्न अनुकूलता प्रदान गरेको निष्कर्ष निकाल्दै त्यसलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको ५ राजनीतिक दलहरु सम्मिलित सरकारमा अन्य राजनीतिक दलहरुलाई साथ र समर्थन गर्नका लागि अनुरोध गर्ने निर्णय गरिएको बताए । बैठकले जनतामा रहेको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामहरुलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्ने कुरामा पनि जोड दिएको छ ।

UML urges other political parties to participate in governmentनयाँ सत्ता समीकरण मुलुकको स्वाधिनता, स्वाभिमान, राष्ट्रियतको प्रश्नमा, विकास र समृद्धिको प्रश्नमा, सामाजिक न्यायको प्रश्नमा फलदायी हुने विश्वास पनि एमालेले लिएको छ । महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले सरकारलाई पार्टीको तर्फबाट सकारात्मक योगदान पुर्‍याउन पार्टीको तर्फबाट सक्दो योगदान गर्ने निर्णय पनि बैठकले गरेको बताए ।

त्यसैगरी एमालेले आगामी वैशाख १० गते नेकपा स्थापना दिवस भव्य रूपमा मनाउन विशेष समारोह आयोजना गर्ने निर्णय पनि गरेको छ । त्यसअघि वैशाख ८ र ९ गते पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बस्ने निर्णय गरिएको महासचिव पोखरेलले जानकारी दिए । एमालेको वार्षिक क्यालेन्डरमा नेकपा स्थापना दिवस विशेष समारोहकाबीच मनाउने तय गरिएको थियो । त्यसलाई सम्पन्न गर्ने विषयमा पनि विस्तृत छलफल गरिएको महासचिव पोखरेलले बताए ।

कान्तिपुर

Link copied successfully