प्रदेशलाई अधिकार दिन संघीय सरकार अनुदार : उपसभामुख

फाल्गुन २३, २०८०

कान्तिपुर संवाददाता

Federal Government to give power to the provinces: Deputy Speaker

विराटनगर — उपसभामुख इन्दिरा राना मगरले देशमा संघीयता आएपनि प्रदेशलाई अधिकार दिने कुरामा संघीय सरकारले अझै उदारता नदेखाएको बताएकी छन् । 

कान्तिपुर सहप्रकाशन नारीले कोशी प्रदेशमा आयोजना गरेको ‘निर्भीक नारी’ कार्यक्रममा मुख्य अतिथिको हैसियतमा बोल्दै उपसभामुख मगरले  भनिन्,‘प्रदेशको अधिकारलाई केन्द्रकै रिमोट कन्ट्रोलवाट सञ्चालन गरिरहेका छौ । त्यस्तो हुनु भएन । प्रदेशमा अधिकार प्रत्यायोजन गरिनु पर्यो ।’  

उनले देशलाई समाजवादउन्मुख बनाइन्छ भनेर संविधानमै उल्लेख गरेपनि समाजवाद हुन केके हुनुपर्छ भन्ने कुरा उल्लेख नभएको बताइन् ।  उनले प्रदेशसँगै  र स्थानीय सरकारमा बलियो बनाउन केन्द्रले अधिकार प्रत्यायोजन गर्नुका विकल्प नभएको बताइन् । ‘त्यसो भयो भने बल्ल जनताले संघीयताप्रति अपनत्व महसुस गर्न पाउछन्,' मगरले थपिन्,‘नत्र संघीयता कार्यान्वयनमा जटिलता पैदा हुन सक्छ ।’ 

घरलाई सही संस्कार दिन जसरी आमाको भूमिका हुन्छ । त्यसरी नै देशलाई अगाडि बढाउन महिला नेतृत्वको भूमिका रहने बताउँदै उनले महिलाहरुलाई राजनीतिक नेतृत्वको अग्रमोर्चामा सहभागी गराउन जरुरी रहेको बताइन् । 

‘भ्रष्टाचार न्यूनीकरणमा महिलाको ठूलो भूमिका हुन्छ,' उनले थपिन्,‘त्यही कारण पनि महिलालाई नेतृत्वमा ल्याउनै पर्छ । भ्रष्टाचार न्यूनीकरण भयो भने देशको आधा भन्दा वढी समस्या समाधान हुन्छ ।’ 

‘महिलामा लगानी गरौं, प्रगतिको गति बढाऔं’ नारासहित नारी मासिकले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्थानीय आवाज उजागर गर्न यस पटक कोशी प्रदेशमा कार्यक्रम आयोजना गरेको हो ।

कान्तिपुर

Link copied successfully