बालकुमारी घटना : न्यायिक छानबिन समिति गठन गर्न प्रधानमन्त्रीसँग मृतकका आफन्तको माग

पुस १४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुरको बालकुमारीमा शुक्रबार मारिएका वीरेन्द्र शाह र सुजन राउतका आफन्तले न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् । 

शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगी मृतकका आफन्तले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रहरी नेतृत्वमा बनेको छानबिन समिति नमान्ने भन्दै न्यायिक समिति गठनको माग गरेका हुन् । 

'प्रहरीको नेतृत्वमा बनेको समितिको हामीलाई विश्वास छैन । न्यायिक छानिबन समिति बनाउनुपर्‍यो र दोषीमाथि कडाभन्दा कारबाही हुनुपर्‍यो,' मृतकका आफन्तको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री दाहालको सचिवालयले भन्यो, 'उनीहरूलाई सहिद घोषणा गर्नुपर्‍यो ।' 

यस्तै, रोजगारीमा विदेश जाने विषयको आन्दोलनमा शाह र राउतको ज्यान गएको भन्दै उनीहरूका परिवारलाई रोजगारीको व्यवस्था गर्न समेत आफन्तको माग छ । 

इपीएस परीक्षाका विषयमा शुक्रबार बालकुमारीमा प्रदर्शनका घटनामा परी जिल्ला अछाम चौरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं बस्ने वर्ष २१ का वीरेन्द्र शाह र जिल्ला दैलेख महाबु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ का सुजन राउतको मृत्यु भएको थियो ।

बालकुमारी घटना

कान्तिपुर

Link copied successfully