प्रधानमन्त्रीले दिए मन्त्री हेरफेर गर्ने स्पष्ट संकेत

कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ ।

पुस १०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्षमता कमजोर हुने मन्त्रीहरू हटाउने स्पष्ट संकेत दिएका छन् । सरकारको एक वर्ष पुगेको अवसरमा मंगलबार सम्बोधन गर्दै दाहालले अब कार्यक्षमता कमजोर हुनेहरुले  ठाउँ ओगट्न नहुने उल्लेख गरे ।

एक वर्षपछि मन्त्रीहरु बदल्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री दाहालले मन्त्रीहरुलाई सम्बोधनमा जोड दिँदै कार्यक्षमताको कुरा उठाएका हुन् ।

'म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्‍न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ' प्रधानमन्त्री दाहालले भने । 

उनले यो कुरा आफ्नो उपदेशमात्र नभई वाचासमेत रहेको उल्लेख गरे । 'यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो । देशमा  सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन,' उनले भने ।  

उनले गठबन्धन सरकार भन्‍नेबित्तिकै ठूलो तानातानी, अस्थिरता र अराजकताको चित्र आउँछ आउने भए पनि यो बीचमा त्यस्तो केही भएको बताए । 'म गठबन्धनका सबै घटक र नेतृत्वप्रति आभारी छु किनकि अहिले न स्थायित्वमा कुनै प्रश्‍न छ, न सरकारमा कुनै तानातानी । यो एक वर्षको साथका लागि सरकारका सबै मन्त्री, कर्मचारी प्रशासन, नागरिक समाज, सञ्‍चारजगत र जनसमुदायमा म कृतज्ञता ज्ञापन गर्दछु,' उनले भने ।

उनले आजसम्मका सबै ऊर्जा र अनुभव खन्याएर म एकपटक राष्‍ट्रनिर्माणमा निर्णायक रूपमा होमिन तत्पर र प्रतिबद्ध रहेको उल्लेख गरे । 

दाहाल सरकारको एक वर्ष

कान्तिपुर

Link copied successfully