काठमाडौँ — जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी १८ भन्दा धेरैको मृत्यु भएको पुष्टि भईसकेको छ । कान्तिपुरका जिल्ला संवाददाताहरुबाट शनिबार राती २ बजेसम्म संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।
राती भएकाले मृत्यु र क्षतिको पूर्ण विवरण आईसकेको छैन । यद्यपी प्रहरी र स्थानीय तहका अधिकारीहरुले मृत्युको संख्या अझै बढन सक्ने बताएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जाजरकोटमा मात्रै ६ जनाको मृत्यु भएको पुष्टी गरे । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सदरमुकामस्थित भेरी नगरपालिकाको पिपलडाँडामा घर भत्किदा एक जनाको मृत्यु भएको पुष्टि गरे । उनले मृत्युको संख्या अझै बढन सक्ने भन्दै धेरै ठाउँमा घर भत्किएर घाईते भएका खबरहरु आईरहेको बताए ।
उनले भने ‘धेरै ठाउँमा घर भत्किएर घाइते भएको खबर आइरहेको छ । उद्धारको काम भइरहेकाले संख्या यकिन भन्न सकिने अवस्था छैन् ।’ जाजरकोट जिल्ला अस्पतालका अनुसार राति साढे १ बजेसम्म ४० जना उपचारका लागि ल्याइएको छ भने घाइतेहरु आउने क्रम जारी छ ।
रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिकामा मात्रै एकै परिवार ६ जना सहित १० जना मृत्यु भएको छ । उनले मृत्यु संख्या अझै बढन सक्ने र रातीको समय भएकाले पूर्ण विवरण नआईसकेको बताए ।
सानीभेरी गाउँपालिका २ पाखापानीमा २ जनाको मृत्यु भएको वडाध्यक्ष मनोज जिसीले बताए । चौरजहारी नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत शेरप्रसाद ढकालका अनुसार चौरजहारी ७ को खत्री गाउँमा भुकम्पले घर भत्किदा ८ जना घाईते भएको बताए । उनले यी सबै घाईतेलाई उपचारका निम्ती नगर अस्पताल पुर्याइएको उनले बताए । यी तीनै स्थानीय तहहरु जाजरकोटसँग सिमा जोडिएका हुन् ।
जाजरकोटका भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीले भेरी, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिकामा भुकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको बताए । उनले आफ्नो गाउँमा मात्रै ८ जनाको मृत्यु भएको सुचना पाएको बताउँदै मृत्युको संख्या अझै बढन सक्ने बताए ।
उनले भने, ‘नचर्किएका घर नै छैनन् । करिब ४० प्रतिशत घरहरु कुनै न कुनै प्रकारको क्षति भएको हुनसक्छ ।’ जिल्ला अस्पतालमा सय भन्दा धेरै बिरामीहरु पुगिसकेको बताउँदै उनले भने, ‘घाईतेहरुको उद्धार गर्न एम्बुलेन्स र गाडीहरुको अभाव भईरहेको छ ।’
कालीकोट संवाददाताका अनुसार शुभकालीका गाउँपालिका ७ मुग्राहका गजेन्द्रबहादुर शाहीको ढुंगाको छाना भएको घर भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताए ।
कर्णाली प्रदेश प्रहरीका डिआईजी भिमप्रसाद ढकाल जाजरकोट सदरमुकाममा पर्खाल भत्किदा प्रहरी सहायक निरिक्षक यमराज रोकाय घाईते भएको बताए । उनले अन्य भौतिक र मानवीय क्षतिको पूर्ण विवरण संकलनको काम भईरहेको बताए ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको राडीबजारमा तीन घरमा पूर्ण क्षती पुगेको स्थानीय बसन्त चन्द ठकुरीले बताए । त्रिवेणी गाउँपालिकाको मुरुडाडामा सातवटा घरमा पूर्ण क्षति भएको स्थानीय आनन्द पुनले बताए । पुनले भत्किएका घरमा एकजना मान्छे च्यापिएको बताए ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ स्यानीबर्खुमा २ जना र ठुलीबार्खुमा २ जनाको ज्यान गएको स्थानिय दलजित सेर्पालीले बताए । उनले कयौं घरहरु भत्किएको र धेरैजनाको हताहती भएको बताए ।
भुकम्पले सल्यानका ग्रामिण भेगमा पनि भौतिक क्षति पुगेको विवरणहरु प्राप्त भएका छन् । रुकुम पश्चिम र जाजरकोटसँग जोडिएको दार्मा गाउँपालिकामा धेरै घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए । सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले जिल्लाको उत्तरी क्षेत्रबाट घर भत्किएको खबर आइरहको र मानवीय क्षतिबारे केही जानकारी नआएको बताए ।
(कान्तिपुर संवाददाताहरु कृष्ण गौतम, सुर्खेत महेश केसी, रुकुम पश्चिम, तुलाराम पाण्डे, कालिकोट,हरिहरसिंह राठौर, जाजरकोट,विप्लव महर्जन, सल्यानबाट प्राप्त रिपोर्ट)
