सुन तस्करीमा बिध ल्याबका सञ्चालकसँग सोधपुछ

भाद्र २५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सुन तस्करी प्रकरणमा मुछिएका बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोधपुछ थालेको छ । अनुसन्धानका क्रममा चिनियाँ सुन तस्करसँग अस्वाभाविक सम्बन्ध र सम्पर्क देखिएपछि भण्डारीलाई सीआईबीले आइतबार कार्यालयमै बोलाएर सोधपुछ गरेको हो । आइतबार सोधपुछ नसकिएपछि सोमबार पुनः उपस्थित हुने गरी छाडिएको छ ।

भण्डारी पूर्वनायब सुब्बा हुन् । चार वर्षको सरकारी सेवाबाट राजीनामा दिएर उनले बिध ल्याब सञ्चालन गरेका थिए । उनको सम्पत्ति अस्वाभाविक देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ असारमा ६ करोडभन्दा बढी बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दा विचाराधीन छ । नासु रहँदा भण्डारी तत्कालीन सरकारमा माओवादीबाट मन्त्री बनेका चार जना नेताहरू पूर्वअर्थमन्त्रीद्वय कृष्णबहादुर महरा र वर्षमान पुन, सामान्य प्रशासनमन्त्री हितराज पाण्डे र समाज कल्याणमन्त्री आशा कोइरालाको सचिवालयमा कार्यरत थिए । पछिल्लो पटक २०८० असार २९ मा हङकङबाट ल्याइएको करिब ६१ केजी र त्यसअघि २०७९ पुस १० मा दुबईबाट भित्र्याइएको ९ केजी सुन तस्करीका गिरोह नाइकेसँग भण्डारीको सम्पर्क सम्बन्ध खुलेको थियो । 

अनुसन्धानका क्रममा सुन तस्करका नाइके तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि भण्डारी अनुसन्धानमा तानिएका थिए । हालसम्म सुन तस्करी प्रकरणमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तीन अधिकृत र ९ जना विदेशी नागरिकसहित ३२ जना पक्राउ परिसकेका छन् । केही सुन तस्कर भने फरार छन् । 

६१ केजी सुन प्रकरणमा संगठित अपराधको दफा लगाएर भइरहेको अनुसन्धान अन्तिम चरणमा पुगेको सीआईबीले जनाएको छ । ९ केजी सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । यो प्रकरणका मुख्य नाइके दावा जिन वाङ फरार छन् । यसको पनि संगठित अपराधकै कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । ९ केजी र ६१ केजी सुन ल्याउने सुन तस्कर एउटै नेटवर्कको भएको अनुसन्धानबाट खुलेको छ ।

कान्तिपुर

Link copied successfully