काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद् चल्न नदिने बताएपछि प्रतिनिधिसभाको सोमबार १ बजे बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।
एमालेका सचेतक महेश बर्तौलाका अनुसार सुन तस्करीको विषयमा छानबिन गर्नका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेले माग राखेको छ । 'छानबिन समिति गठन गरेपछि मात्रै संसद् चल्न दिने अडान हाम्रो छ । संसद्को प्रक्रिया अगाडि बढ्दैन, संसद् चल्दैन,' उनले भने, 'गृहमन्त्रीमाथि प्रश्न र आशंका छ । उहाँ मातहतका निकायले उहाँमाथि छानबिन गर्न सक्दैनन् । त्यसैले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ अनिमात्र संसद् अगाडि बढ्छ ।'
एमालेलगायतका दलका नेताहरूसँग छलफल गरेपछि सभामुख देवराज घिमिरेले संसद् भवनमा नै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरिरहेका छन् । सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार संसद्को अवरोध कसरी हटाउने भन्ने विषयमा सभामुखले गृहमन्त्रीसँग छलफल गरिरहेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा राजस्व अनुसन्धान विभागले स्कुटरको ब्रेक शुमा प्याक गरिएको सुन बरामद गरेको थियो । उक्त सुनको परिमाण एक क्विन्टल रहेको बताइएको छ । विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण भएको बताइएको छ ।
उक्त प्रकरणमा चीन, नेपाल र भारतका तस्कर समूह संलग्न रहेको अनुमान गरिएको छ भने संलग्न केही व्यक्ति पक्राउ परिसकेका छन् । संसद्मा प्रमुख प्रतिपक्षी एमालेले उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै साउन १० को प्रतिनिधिसभा बैठक कारबाही अवरुद्ध गरेको थियो । साउन १० मा संसद् बैठक अवरुद्ध भएपछि सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो ।
