संसद्‌बाट दुई पटक पारित भएको नागरिकता विधेयक फिर्ता आउनु हुँदैन : निधि

जेष्ठ १०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभा बैठकको बुधबारको बैठकमा सांसद निधिले विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अड्चन नभएको दाबीसमेत गरेका हुन् । 

संघीय संसद्ले दुईदुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि सांसद निधिले माग गरेका हुन् । ‘आजको समाचार पत्रहरूमा सम्माननीय राष्ट्रपतिजीका, सम्माननीय प्रधानमन्त्री र मन्त्रीजीहरूको बीचमा नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको समाचारहरु सुन्यौं । यो नागरिकता विधेयक प्रमाणिकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरु खोज्नुभएको छ अरे भनेर सुनेको छु,' उनले भने ।

राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद् नै हुने बताउँदै उनले भने‚ ‘अब त्यो संसद्‌बाट दुईदुई पटक पारित भएर गएको विधेयक संसद्‌मा फिर्ता आउनुहुँदैन । र, त्यहीँबाट प्रमाणित नै हुनुपर्दछ । मन्त्रिपरिषद्ले नै निर्णय गरेर राष्ट्रपतिजीलाई सल्लाह गरेर कुनै बाधा छ भने त्यो पनि फुकाउनु परेन । यो संविधानसम्मत कुरा नै हो । त्यसकारण नागरिकता विधेयक तत्काल प्रमाणित गर्न लगाउने कुरामा सरकार चाहीँ सम्पूर्ण रुपमा सक्रिय भइदिनुपर्‍यो भन्ने कुरा राख्न चाहन्छु ।’

नेता निधिले संघीय संसद्‌ले दुई दुई पटक पारित गरेर पठाएको सो विधेयक फेरि संसद्‌मा आउन नहुनेसमेत बताए । 

संसद्मा सांसद

कान्तिपुर

Link copied successfully