कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

ओजका लागि राखिएका क्रान्तिकारी नाम बने बोझ

जनयुद्धकालमा जन्मेका छोराछोरीका नाममा क्रान्तिको झल्को खोज्ने थवाङीहरू हिजोआज आफ्नै परम्परा र संस्कृति झल्किने खाममगर भाषाका शब्दबाट सन्तानहरूको नाम राख्छन् 

थवाङ, रोल्पा — जब उनले आफ्नो नाम युद्धजित रोका मगर बताउँछन् तब मान्छेले अनौठो मानेजस्तो प्रतिक्रिया देखाइहाल्छन् । कोही–कोही त सोधी पनि हाल्छन्, कस्तो अनौठो नाम हो ? कोहीकोहीले भने यस्तो नाम पनि के राखेको भनेर नाक खुम्च्याएजस्तो गर्छन् ।

ओजका लागि राखिएका क्रान्तिकारी नाम बने बोझ

कोही भने अचम्म मानेजस्तो गर्छन् । तर यो सबै सुन्दासुन्दा २५ वर्षीय युद्धजितलाई भने बानी परिसक्यो । २०५४ असार १० मा युद्धजित जन्मँदा माओवादी जनयुद्धको उद्गमथलो मानिने रोल्पाको थवाङमा द्वन्द्वको चर्को रापताप थियो । तत्कालीन राज्यसत्ताविरुद्ध सशस्त्र द्वन्द्वमा थुप्रै थवाङी होमिएका थिए । कोही भूमिगत थिए, सहिद परिवारको संख्या हरेक दिन थपिँदै थियो । त्यहीताका जन्मेका उनको नाम ठूलोबा सूर्यबहादुरले राखिदिए, युद्धजित । उनको नाम राखिदिएका सूर्यबहादुर पनि पछि सहिद भए । कमरेड हाङ भनिने उनका बाबु राजकुमार भने युद्धजितलाई आमाको जिम्मा लगाएर भूमिगत भई नै रहे ।

जनयुद्धका क्रममा थवाङमा जन्मिएका धेरैजसो बालबालिकाको नाम युद्धसँग सम्बन्धित देखिन्छ । जनवाद रोकादेखि जिन्दावाद रोकासम्म, स्वतन्त्र नेपालीदेखि अजय क्रान्ति रोकासम्म, संघर्ष बुढादेखि संघर्ष नेपालीसम्म थवाङमै भेटिन्छन् । माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीबाट प्रभावित भएर अनेरा रोका राख्नेदेखि स्ववियु नाम राख्नेसम्मका छन् । युद्धजितकै अर्का एक जना साथी छन्, युद्ध रोका मगर । उनले सुनाए, ‘सानो छँदा अरूको नाम राम, श्याम, हरि छ । मेरो नाम किन यस्तो राखेको होला ? जसले पनि अचम्म मान्ने भन्ने लाग्थ्यो । पछि बुझ्दै गए । यो त जनयुद्धका बेलाको नाम पो रहेछ ।’

थवाङकी पूर्णकुमारी रोका मगरले २०५८ मंसिर १ मा छोरी जन्माइन् । त्यति बेला उनका पति लालमणि रोका माओवादी जनयुद्धमा होमिएर भूमिगत भएका थिए, जो एटम उपनामले चिनिन्थे । कति बेला सेनाले पक्रेर लैजाला भन्ने डरले उनी छोरी जन्मेपछि जंगलमा लुक्न पुगिन् । भूमिगत रहेकै बेला लालमणिले चिठी लेखेर पठाइदिएको छोरीको नाम अजयक्रान्ति राखिन् । पत्रमार्फत छोरीको नाम राखेका माओवादीको विशेष सैनिक कमान्डका सदस्य लालमणि त्यसको तीन महिनापछि दाङको घोराहीबाट पक्राउ परे ।

माओवादीले दाङको सतबरियास्थित सशस्त्र प्रहरी चौकी आक्रमणलगत्तै अचानक खबर आयो, लालमणि मारिए । अझै पनि मानिसहरूले छोरीको नाम सुन्नासाथ कस्तो अनौठो नाम भन्दै किन त्यस्तो नाम राखेको भन्दै पूर्णकुमारीलाई सोध्छन् । उनले भनिन्, ‘संकटकालमा जन्मेकाले त्यस्तो नाम राखेको भन्दै जनयुद्धको समयमा छोरी जन्मेको बताउँछु ।’ अजयक्रान्तिलाई साथीहरूले तिम्रो कस्तो नाम हो भनेर बारम्बार सोध्छन् । उनलाई आफ्नो नाम बुबाले राखिदिएको मात्र थाहा छ । उनलाई यति मात्र थाहा छ, बुबाले चिठी दिएर छोरा भए विजय र छोरी भए अजयक्रान्ति नाम राख्न भनेका थिए । उनले यो कुरा आमाबाट सुन्न पाएकी हुन् । दाङमा बस्ने उनी भन्छिन्, ‘मलाई साथीभाइले किन यस्तो नाम राखेको भनेर सोधिराख्छन् । कतिपयले नामको अघि अजय देखेर श्रीमान्को नाम पनि जोडेर राखेको हो कि भन्छन् ।’

स्थानीय कालिका नेत्रज्योति प्राविकी शिक्षिका मूलज्योति रोकाअनुसार माओवादीको जनयुद्धले थवाङको दिनचर्या मात्रै बदलेन, सशस्त्र द्वन्द्वकालभरि जन्मिने बालबालिकाको नाम पनि बदल्यो । उनले जनयुद्धको समय, त्यसअघि र पछिका बालबालिकाका नाममा निकै फरक रहेको सुनाइन् । भनिन्, ‘पहिले त केटाको नाम धनवीर, मनवीर, रामवीर हुन्थ्यो । कतिपयले नामको पछि बहादुर त कतिले कुमार थप्थे । केटीको नाम पनि धनीमाला, मनमाला, धनमाया, मनमाया हुन्थ्यो । कतिपयको नाम भने सुनसरी, धनसरी हुन्थ्यो । अलिक आधुनिक राख्नेले नामको बीचमा कुमारी पनि राख्थे ।’ जनयुद्ध सुरु भएपछि भने बालबालिकाको नाम युद्धको गति र युद्धमा हुने हारजितका आधारमा राख्ने क्रम सुरु भयो ।

नेपाल कम्युनिस्ट पार्टी चन्द समूहका थवाङ सेक्रेटरी अमित घर्ती मगरले जनयुद्धका घटनाका आधारमा बालबालिकाको नाम राखिएको प्रसंग सुनाए । २०६० असारतिर नेपाली सेनाले सिंगो गाउँ घेरेपछि सारा थवाङीहरू घर छोडेर जंगल पसेको प्रसंग सुनाउँदै उनले भने, ‘त्यति बेला जंगलमै ११ जना सुत्केरी भएका थिए । तीमध्ये बखत विकले वनमा जन्मिएको छोराको नाम वनकस विक राखे । अरूले पनि तत्कालीन परिस्थिति र युद्ध जोडिने नाम राखेका थिए ।’

अमितका अनुसार माओवादी जनयुद्धको तयारीका बेला पार्टीले सिस्ने जलजला क्षेत्रको नाम समेटेर ‘सिज अभियान’ सुरु गरेको थियो । रामबहादुर थापा बादल, सन्तोष बुढा मगरलगायतले नेतृत्व गरेको यो अभियानका क्रममा जन्मेका केही बालबालिकाको नाम सिजकुमारी घर्ती, सिजकुमार रोका राखिएको छ । अमितले भने, ‘समय, परिस्थितिले नामहरू जन्माउँदो रहेछ ।’

के त्यसो भए जनयुद्धलाई सम्झाउने वा जनयुद्धको विगत बुझाउने नामहरू थवाङीले राख्न छाडे त ? स्थानीय शिक्षिका मूलज्योतिले हिजोआज थवाङी अभिभावकले आफ्ना सन्तानको नाम जनयुद्धको झल्को वा सम्झना हुने गरी राख्नै छाडेको बताइन् । त्यसो भए हिजोआज बालबालिकाको नाम कस्तो राखिन्छ त ? उनले भनिन्, ‘अहिले त बरु आफ्नै भाषा, संस्कृति र परम्परा झल्किने नाम राख्ने चलन बढेको छ ।’ मूलज्योतिले पछिल्ला वर्षहरूमा खाम मगर भाषाबाटै नाम राख्ने चलन सुरु भएको बताइन् । जस्तो कि मी युङ नाम चल्तीमा छ । जसको अर्थ हो, मान्छेको मन । गिन युङ नाम पनि धेरैले राख्छन् । जसको अर्थ हो, हाम्रो मुटु । चाओ सान नाम पनि कैयन्ले राखेका छन् । जसको अर्थ हो, राम्रो पो । कतिपयले मिन चाउ नाम राखेका छन् । जसको अर्थ हो, राम्रो नाम । कसैले युङका राखेका छन् । जसको अर्थ मनको वा इच्छ्याइएको भन्ने हुन्छ ।

२०६२ पछि जन्मेका धेरैजसो बालबालिकाको नाम कि त खाम मगर संस्कृति झल्किने खालको छ कि त आधुनिक देखिने नाम छन् । जस्तो कि, दिलपुरा विकले दुई छोराको नाम विशाल र आरोश राखिन् भने दुई छोरीको नाम मञ्जु र अञ्जु राखिन् अनि नातिको नाम किरण राखिन् । स्थानीय पुनी विकले पनि आफ्नो छोरीको नाम जेनी राखिन् भने छोराको नाम शिशिर राखिन् । यी सबै विस्तृत शान्ति सम्झौतापछिका वर्षमा जन्मिएका हुन् । दिलपुराले सुनाइन्, ‘हिजोआज त क्रान्ति, संघर्षजस्ता नाम राख्दैनन् । अहिले त राम्रा–राम्रा नाम राख्छन् ।’

स्थानीय जलजला एजुकेसनल एकेडेमीका प्रिन्सिपल गोविन विकले समयअनुसार नाममा परिवर्तन आएको बताए । कि त आफ्नै भाषामा नाम राख्ने कि चाहिँ आधुनिक खालका नाम राख्ने चलन सुरु भएको छ । उनले भने, ‘नयाँ पुस्ताले पनि क्रान्ति, युद्ध जोडिने नाम मन पराउन छोडिसके ।’

प्रकाशित : जेष्ठ ८, २०८० ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?