काठमाडौँ — कांग्रेसका पाँच जना सांसदहरूले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आफूहरु असन्तुष्टि पोख्न नभइ नियमित भेटघाटमा गएको दाबी गरेका छन् । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनीहरु असन्तुष्टि व्यक्त गर्न गएको भन्ने कुरा सही नभएको उनीहरूले उल्लेख गरेका छन् ।
कान्तिका सेजुवाल,नागिना यादव,जावेदा खातुन जागा,रुपा विक र सुशीला थिङले आइतबार कान्तिपुरमा प्रकाशित 'छायाशक्तिमाथि अनुसन्धान छायामा' शीर्षकको समाचारमा उल्लेखित प्रसंगहरूको खण्डन गरेका छन् ।
'मिति २०८०/१/३१ गते कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित भएको छाया शक्तिमाथि अनुसन्धान शीर्षकको समाचारले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा भनिए जस्तो हामीहरू आदर्णीय पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको निवासमा असन्तुष्टि पोख्न, कसैलाई कारबाहीको माग गर्न गएको नभई नियमित भेटघाटका क्रममा गएका थियौं । जुन स्वभाविकै हो । तर सोही विषयलाई लिएर हुँदै नभएको मनगढन्ते र आधारहीन कुरा समाचारमा लेख्दा हामी आश्चर्यचकित भएका छौँ,' उनीहरूले जारी गरेको खण्डनमा उल्लेख छ ।
उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भमा दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् । 'निर्दोषलाई फसाउन अनेक जलझेल गराउनु हुँदैन । साथै दोषीले उन्मुक्ति पनि पाउनु हुँदैन । शंकाको भरमा ठोस आधारबिना कसैको चरित्र हत्या गर्ने, जबर्जस्ती नाम जोड्ने काम निन्दनीय भएको हुँदा यसको भर्त्सना गर्दछौं,' खण्डनमा उल्लेख छ ।
