काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनी कठघरामा ल्याएर कडा भन्दा कडा सजाय दिनुपर्ने बताएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामुमा नेपालको शिर निहुरिएको बताएका हुन् ।
कोइरलाले फेसबुकमा लेखेका छन्, 'भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामुमा देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं । तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ ।'
देशका शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढ्दै गएको र त्यसले दशकौं संघर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको उनको भनाइ छ । नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिन भ्रष्टाचारविरूद्ध नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्नुपर्ने उनले बताएका छन् । कोइरालाले लेखेका छन्, 'अब समय आएको छ भ्रष्टाचारविरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने।'
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् ।
