काठमाडौँ — नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (यूएनएचसीआर) ले भुटानका शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम २०१६ डिसेम्बर ३१ मा समाप्त भइसक्यो उल्लेख गर्दै फेरि सुचारु नहुने जनाएको छ ।
कान्तिपुर दैनिकले नेपालमा नक्कली भुटानी शरणार्थीको विषयमा भइरहेको अनुसन्धानबारे राखेको जिज्ञासामा यूएनएचसीआरले नेपाली नागरिक ठगी भएको पछिल्लो रिपोर्टहरूप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
‘यस ठगी प्रकरणमा नेपाल सरकारको छानबिनलाई हामी स्वागत गर्छौं,’ यूएनएचसीआरले जवाफमा भनेको छ, ‘नेपालमा भुटानका शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम २०१६ को डिसेम्बर ३१ मै समाप्त भइसकेको हो र फेरि सुचारु हुने छैन ।’ यूएनएचसीआरले पुनः बसोबास कार्यक्रमको अन्त्य भएको सम्बन्धमा सार्वजनिक रूपमा निरन्तर जानकारी गराउँदै आइरहेको पनि उल्लेख गरेको छ ।
