काठमाडौँ — बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मत दिने भएको छ । नेसपाको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।
यस्तै नेसपाले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको छ । नेसपासँग २५४ मतभार छ । नेसपाका संघीय संसद्मा २ र प्रदेश सभामा २ जना सांसद छन् ।
शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।
कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
त्यस्तै एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
