काठमाडौँ — नेकपा (एमाले) ले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गरिने बताएको छ । काठमाडौंको याक एण्ड यति होटलमा मंगलबार डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गरिने बताइएको छ ।
‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गरिने छ । द्वन्द्वकालमा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिहरूलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पुनःस्थापनासम्बन्धी कार्य गरिने छ‚’ घोषणापत्रमा भनिएको छ‚ ‘द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूरणको कार्य अघि बढाइने छ ।’
घोषणापत्रमा द्वन्द्वकालमा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिहरूलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पुनःस्थापनासम्बन्धी कार्य गरिने बताइएको छ । यसका साथै द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूरणको कार्य अघि बढाइने बताइएको छ ।
त्यस्तै द्वन्द्वपीडितलाई द्वन्द्वको त्रासदी, निराशा र अन्यायबाट मुक्त गरिने तथा संरक्षण र न्याय दिइने घोषणापत्रमा उल्लेख गरिएको छ । ‘घाइते तथा पीडितहरूमा क्षमता विकास गरी रोजगारी उपलब्ध गराउने र समाजको मूल प्रवाहमा ल्याई सम्मानजनक जीवनयापन गर्नसक्ने बनाइने छ‚’ घोषणापत्रमा भनिएको छ ।
