मन्त्रिपरषद्मा उठेन 'अर्थमन्त्री प्रकरण', मन्त्रीहरू भन्छन्- 'त्यो राजनीतिक विषय हो'

काठमाडौँ — बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको र त्यो प्रकरणलाई ढाकछोप गर्न अर्थमन्त्रालयको सीसीटीभी फुटेज डिलिट गरी विवादमा आएका अर्थमन्त्री जनार्दन शर्माको विषयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैकमा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले छलफल गरेका छैनन् ।

मन्त्रिपरषद्मा उठेन 'अर्थमन्त्री प्रकरण', मन्त्रीहरू भन्छन्- 'त्यो राजनीतिक विषय हो'

मन्त्रीहरूका अनुसार अर्थमन्त्री शर्माको उक्त प्रकरण राजनीतिक भएको र राजनीतिक तहबाट नै हल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्मा कुरा नउठेको हो ।

अर्थमन्त्रीका कारण संसद्‍ र सडकमा चर्को विरोध भइरहँदा पनि मन्त्रिपरिषद्मा भने कुरा नउठेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्दप्रसाद शर्मा कोइरालाले भने, 'अर्थमन्त्रीको विषयमा कुनै कुरा उठेन । त्यो राजनीतिक विषय हो त्यो ।'

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राजनीतिक रूपमा नै शिर्ष नेताहरूले सल्टाउनुपर्ने विषय भएको बताए । उनले भने, 'यो मन्त्रिपरिषद्मा उठ्ने विषय होइन ।' भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री मोहम्मद इस्तियाक राईले पनि अर्थमन्त्रीबारे मन्त्रिपरिषद्को बैठकमा कनै कुरा नउठेको बताए ।

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षका लागि बजेटमा करका दर हेरफेर गर्ने क्रममा जेठ १४ गते राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिहरूलाई प्रवेश गराएको भन्दै सरकारको पनि आलोचना भइरहेको छ । अर्थमन्त्रीले शर्माले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी एमालेसँगै पछिल्लो समय सत्तारुढ दलका सांसदहरूले पनि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने वा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने बताउन थालेका छन् ।

सार्वजनिक रूपमा पनि अर्थमन्त्रीको राजीनामा माग गरिएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वकुलपति केदारभक्त माथेमा र डा. गोविन्द केसीले सोमाबार मात्रै विज्ञप्ति जारी गरेर अर्थमन्त्रीलाई राजीनामा गर्न माग गरेका थिए । तर, मन्त्रिपरिषद्मा भने उक्त विषय उठेको छैन ।

प्रकाशित : असार २१, २०७९ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?