राष्ट्रिय सहमतिबिना एमसीसी टेबल गर्नु हुँदैन : गुरुङ

फाल्गुन ४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका नेता तथा संसदीय दलको प्रमुख सचेतक देव गुरुङले एमसीसीबारे राष्ट्रिय सहमति गरेर मात्रै संसद्‍मा टेबल गर्नुपर्ने बताएका छन् । यस्ता गम्भीर विषयलाई संसद्‍मा टेबल गर्नुअघि राष्ट्रिय सहमति आवश्यक रहेको उनको अडान थियो ।

साथै संसद्‍ अवरुद्ध भइरहेको अवस्थामा यस्ता विषयलाई टेबल गर्न नहुने उनको तर्क थियो । 'जसलाई जे मन लाग्यो त्यही टेबल गर्ने ? यो गठबन्धन सरकारको चरित्र भएन । यस्तो गम्भीर विषयलाई टेबुलमा लैजानुअघि आपसी सल्लाह र सहमतिबाट निर्णय गर्नुपर्ने थियो । तर त्यस्तो नगरिकन आफ्नो मनलाग्दी गरेर त भएन । छलफलपछि निर्णय गरेर मात्रै अगाडि बढ्नुपर्छ' नेता गुरुङले भनेका छन् ।

संसद्‍ बैठकमा एमसीसी टेबुल गर्ने सरकारले तयारी गरिरहँदा माओवादीका नेताहरूले भने राष्ट्रिय सहमति आवश्यक भन्दै विरोध जनाएका छन् । नेता गुरुङले भने एमसीसीलाई टेबल गर्ने तयारी गरेकोमा सरकारको गठबन्धन चरित्र नदेखिएको आरोप लगाएका थिए ।

प्रतिपक्षीले संसद्‍ अवरुद्ध गरिरहेको अवस्थामा र सहमति नभइरहँदा एमसीसी टेबल गर्नुको औचित्य नरहेको उनको भनाइ छ । साथै सदन नियमित रुपमा चल्न थालेपछि सभामुखले एजेन्डाबारे छलफल गरेर प्रक्रिया अगाडि बढाउने उनले बताएका थिए ।

उनले भनेका छन्, 'संविधानलाई नै प्रभावित पार्ने विषयलाई टेबुलमा लैजान राष्ट्रिय सहमति आवश्यक पर्छ । संविधानको कुन धारा, दफा अनुसार छिर्ने भन्ने विधि आवश्यक हुन्छ । यसका लागि पहिले राष्ट्रिय सहमति गर्नुपर्छ ।'

कांग्रेसका नेताहरूले एमसीसीलाई सदनबाट पास गर्नुपर्ने भनिरहँदा गठबन्धन सरकारकै अर्को हिस्सेदार माओवादी केन्द्रका नेताहरूले भने त्यसअघि राष्ट्रिय सहमति आवश्यक भन्दैआएका छन् । नारायणकाजी श्रेष्ठसहित केही नेताहरू त एमसीसीको विरोध गर्दै सडक प्रदर्शनमै उत्रिएका छन् ।

बुधबार संसद्‍ बैठक बस्नु अघिदेखि नै नयाँ बानेश्वरमा एमसीसीको विरोध गर्दै ठूलो संख्यामा प्रदर्शन भइरहेको छ। यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ ।

एमसीसी

कान्तिपुर

Link copied successfully