वैशाख ३० का लागि निर्वाचन मिति घोषणा गर्ने सरकारको तयारी

माघ २४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न आयोगसँग थप परामर्श गरेको छ । मन्त्रिपरिषद्‍को सोमबार बस्ने बैठकमा निर्णय गर्नुअघि सरकारले आयोगका पदाधिकारीहरूसँग परामर्श गरेको हो ।

'सरकारले वैशाख ३० गते निर्वाचन गर्न सकिन्छ भनेर आयोगका अधिकारीलाई सोधेको थियो,' आयोगका एक पदाधिकारीले कान्तिपुरसित भने,'हामीले सक्छौं भनेर जवाफ दियौं । सायद सरकार बाट यही निर्णय हुन्छ होला ।'

आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो । सञ्चामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि स्थानीय तहको पदावधि नसकिँदै निर्वाचन गर्ने बताएका थिए ।

स्थानीय तह निर्वाचन ऐनको दफा ५५ मा जनप्रतिनिधिहरूलाई निर्वाचित भएको मितिको ७औं दिनबाट नयाँ निर्वाचित सदस्य मानिने व्यवस्था छ । २०७९ साल जेठ ४ गते निर्वाचन गर्दा त्यसको ७ दिनपछि जेठ ११ गते मात्रै नयाँ पदाधिकारीले पदभार ग्रहण गर्न पाउनेछन् ।

यदी वैशाख ३० मा नै निर्वाचन भएको खण्डमा जेठ ६ गते नै नयाँ पदाधिकारीले पदभार सुरु गर्न पाउने छन् । २०७४ वैशाख ३१ मा भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीको पदावधि भने जेठ ५ गते सकिँदैछ ।

उनीहरूको पदावधि सकिएको भोलिपल्ट नै नयाँ पदाधिकारीले कार्यभार सम्हाल्नका लागि वैशाख ३० गते निर्वाचन गर्न लागेको हुनसक्ने आयोगका एक अधिकारीले जनाए ।

आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्छौं : सञ्चारमन्त्री कार्की

जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा


स्थानीय तह निर्वाचन

कान्तिपुर

Link copied successfully