‘चुनाव घोषणाअघि माग सम्बोधन नभए विकल्प खोज्छौं’

माघ २४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुनुअगावै आफूले उठाएको माग पूरा नभए विकल्प खोज्ने बताएका छन् । 

सुकेधारास्थित एक पार्टी प्यालेसमा राप्रपा केन्द्रीय कमिटी सदस्यहरूको भेलाको आयोजना गर्दै थापाले आफूले अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफ्ना माग सम्बोधन नभए विकल्प खोज्ने विषयमा जानकारी गराइसकेको बताए । 

‘सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नुअगावै यदि हामीले उठाएको सैद्धान्तिक, सांगठनिक र व्यहारिक मागको विषयमा निराकरण वा समाधान खोज्ने प्रयास भएन भने हामी विकल्प खोज्न बाध्य हुन्छौं । स्थानीय तहको चुनावअघि नै हामीले उठाएको विषय सम्बोधन नभए पार्टीभित्र निरीह र लाचार भएर बस्नुपर्ने अवस्था आउँछ‚’ थापाले भने, ‘मैले दुई दिनअघि अध्यक्ष राजेन्द्र लिङ्देनसँगको भेटमा पनि यो विषयको बारेमा कुरा उठाएको छु । यही कुरा तपाईंहरूलाई पनि जानकारी गराउनका लागि यो भेला आयोजना गरेको हुँ ।’

मंसिरको तेस्रो साता भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका थापा आफू पराजित भएदेखि असन्तुष्ट रहँदै आएका छन् । शनिबार थापासँग राप्रपा अध्यक्ष लिङ्देनले थापाको बुढानीलकण्ठस्थित निवासमा भेट गरेका थिए । 

राप्रपाको आन्तरिक मामिलामा पूर्वराजा र निर्मल निवासबाट हस्तक्षेप भएको आरोप लगाउँदै थापाले त्यस विषयमा पार्टीभित्र छानबिन हुनुपर्ने मुख्य माग राख्दै आएका छन् । त्यसैगरी उनले केन्द्रीय समिति र पदाधिकारीका अध्यक्ष लिङ्देनले गरेको मनोनयन सन्तुलित नभएको भन्दै असन्तुष्टि जनाएका छन् । 

‘अब लामो समयसम्म प्रतीक्षा गर्न सकिँदैन । पार्टी दुर्घटनातर्फ उन्मुख हुँदै गइरहेको र कार्यकर्तामा विचलन देखा पर्न थालेको अवस्थामा स्थानीय चुनाव हुन लागेको छ,’  उनले भने‚ ‘यही अवस्थामा अब यसको निकास नखोज्ने हो भने निरीह वा लाचार भएर यो सबै घटनाक्रमको साक्षी भएर बस्न सकिन्न ।’

भेलामा थापाले राजासहिको अजेन्डा बोकेर जाने हो भने राप्रपाको आन्तरिक मामिलामा निर्मल निवासबाट भएको हस्तक्षेपको विषय निराकरण हुनुपर्ने बताए । 

‘केन्द्रीय कमिटीको बैठकमा केही साथीहरूले छानबिनको विषय उठाउँदा निर्वाचनको रापतापमा यो विषयमा छलफल हुन सक्दैन भनेर अध्यक्षले भन्नुभयो‚’ थापाले भने । 

भेलामा थापाले पूर्वराजाले राप्रपालाई रिमोर्ट कन्ट्रोलबाट चल्ने दल बनाउन खोजेको आरोप लगाएका थिए ।

स्थानीय तह निर्वाचन

कान्तिपुर

Link copied successfully