अवैतनिक दूतलाई फेरि झन्डा र नीलो नम्बर प्लेट- समाचार - कान्तिपुर समाचार

अवैतनिक दूतलाई फेरि झन्डा र नीलो नम्बर प्लेट

कूटनीतिक सुविधा लिनेमा चौधरी ग्रुप, अग्रवाल घराना, खेतान समूहदेखि विवादास्पद व्यापारीसम्म
कृष्ण आचार्य, जगदीश्वर पाण्डे

काठमाडौँ — कूटनीतिक विशेषाधिकार दुरुपयोग गरेको भन्दै आलोचित अवैतनिक वाणिज्य दूतका लागि सवारीसाधनमा नीलो नम्बर प्लेट र झन्डा फहराउने व्यवस्था ब्युँताइएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रीस्तरीय निर्णय गरी अवैतनिक दूतले आफ्नो सवारीसाधनमा नीलो नम्बर प्लेट र सम्बन्धित देशको झन्डा राख्न पाउने निर्णय गरेका हुन् ।

नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवाल कालोबजारीको कसुरमा दुई वर्षअघि पक्राउ परेपछि यस्तो व्यवस्था खारेज भएको थियो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रीस्तरीय निर्णयबाटै त्यस्तो सुविधा कटौती गरेका थिए ।

मुलुक कोरोना महामारीले आक्रान्त भएका बेला किर्गिस्तानका अवैतनिक दूत तथा शंकर ग्रुपका सञ्चालक अग्रवालले ‘कूटनीतिक सुविधा र विशेषाधिकार’ दुरुपयोग गरी ज्वरो नाप्ने थर्मल–गनको कालोबजारी गरेका थिए । नीलो नम्बर प्लेटको २०९–एचसीसी–१ गाडीमा थर्मल गनसहित उनी २०७६ चैत २५ मा नक्सालबाट पक्राउ परेका थिए । उनले पाँच हजार पर्ने थर्मल गर्न १५ हजार रुपैयाँसम्ममा बिक्री गरेको प्रहरीको निष्कर्ष निकालेको थियो । पछि उनी धरौटीमा छुटे । त्यतिबेला नै परराष्ट्रले सबै दूतको सुविधा खोसिदिएको थियो । हाल किर्गिस्तानका लागि अवैतनिक दूत छैनन् । अन्य चार दर्जनभन्दा बढी मुलुकका यस्ता दूतले फेरि यो सुविधा पाउने भएका छन् । अवैतनिक दूतलाई नीलो नम्बर प्लेट र झन्डा राख्न पाउने व्यवस्था गरिएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पुष्टि गरिन् ।

अवैतनिक दूत : सामाजिक हैसियत बढाउने कूटनीतिक काइदा

नेपालका थुप्रै व्यवसायी, व्यापारी र उद्योगपति सामाजिक हैसियत देखाउन, कूटनीतिक सुविधा उपभोग गर्न विभिन्न देशको अवैतनिक दूत बन्ने क्रम बढ्दो छ । ‘यो मानका खातिर मानको उपाधि मात्रै हो,’ एक पूर्वशिष्टाचार महापालले भने, ‘अवैतनिक दूतलाई कुनै प्रशासनिक, कूटनीतिक वा कानुनी उन्मुक्ति हुँदैन ।’ नेपालमा भने यात्रा तथा विभिन्न क्षेत्रको सुविधामा यो व्यवस्था भजाउने गरिएको छ । नीलो रङको कूटनीतिक नम्बर प्लेट भएको गाडीमा विदेशी झन्डा हल्लाउँदै हिँड्न पाएपछि व्यावहारिक रूपमा उनीहरूले विभिन्न छुट पाउने गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार अगस्ट २०२१ सम्म नेपालमा विभिन्न देशका लागि ५३ जना अवैतनिक दूत/महावाणिज्य दूत छन् । दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि आफ्ना नागरिक आउजाउ गर्न भिसालगायतका कामको सहजीकरणका लागि यस्ता दूत नियुक्त गरिन्छ । नेपालसँग द्विपक्षीय सम्बन्ध स्थापित गरेका तर काठमाडौंमा राजदूतावास नभएका ५३ मुलुकले आफ्नो दूतका रूपमा नेपाली व्यापारीलाई नियुक्त गरेका छन् ।

शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि आफूहरूलाई पहिलेकै हैसियतमा कूटनीतिक नम्बर प्लेट र झन्डा राख्ने व्यवस्थाका लागि व्यापारीले परराष्ट्रमा पुगेर लबिइङ गरेका थिए । उनीहरूले मन्त्री खड्कालाई पटकपटक भेटेर एउटा व्यक्तिले गल्ती गर्दा अरूलाई सजाय दिनु गलत भएको भन्दै गुनासो गरेको मन्त्रीनिकट एक व्यक्तिले कान्तिपुरलाई बताए ।

सम्बन्धित मुलुकले नियुक्तिका लागि सिफारिस गरेर पठाएपछि परराष्ट्र मन्त्रालयले स्वीकृत गर्ने चलन छ । ‘यसमा धेरै केरकार गरिन्न,’ परराष्ट्रका एक अधिकारीले भने, ‘त्यसैले विदेशी मुलुकको दूत बनेर आफ्नो सामाजिक हैसियत बढाउन खोज्नेले यस्तो कूटनीतिक परिचय लिने गर्छन् ।’ अवैतनिक दूतले सामान्यतः नीलो प्लेटको कूटनीतिक गाडी सुविधासरह पाउँदै आएका थिए । यसबाहेक अन्य सुविधा दिने व्यवस्था छैन । तर, विमानस्थल तथा भन्सारमा आफ्नो ओहदाको कुरा झिकेर कतिपयले सुविधा लिने गरेका छन् ।

पूर्वशिष्टाचार महापाल गोपालबहादुर थापाका अनुसार नीलो प्लेटको गाडी सुविधा पाउन काठमाडौंस्थित व्यापार–व्यवसायमा जोडिएका अवैतनिक दूतले दबाब दिएपछि सन् २००८ पछि यस प्रकारको सुविधा दिइएको हो । ‘यो मेरै पालामा भएको निर्णय हो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निर्देशन र परराष्ट्रमन्त्री सहाना प्रधानको सहमतिमा यो निर्णय गरिएको थियो,’ थापाले भने, ‘तर पाएको सुविधा दुरुपयोग बढी भएको छ ।’ उनका अनुसार नीलो नम्बर प्लेट भएको गाडी लिएर काठमाडौंबाहिर जानुपरे परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्छ, तर अनुगमन र परराष्ट्रको कडाइ देखिन्न ।

कूटनीतिज्ञ तथा पूर्वराजदूत दिनेश भट्टराई यस्ता दूतले पाउने विशेषाधिकार व्यक्तिगत काम वा व्यवसायका लागि नभएको बताउँछन् । ‘कूटनीतिसम्बन्धी काम गर्दा मात्र त्यस्ता सुविधा र विशेषाधिकारको उपयोग गर्न पाइन्छ,’ उनले भने, ‘यहाँ त गलत रूपमा व्यवसायीले फाइदा उठाइरहेका हुन्छन् । अनुगमन गर्ने विशेष संयन्त्र चाहिन्छ ।’

चेक रिपब्लिकका दूत विष्णु अग्रवालले कुनै व्यक्तिले फट्याइँ गर्दैमा सबैले त्यसै गर्छन् भन्न नमिल्ने बताए । ‘जुन देशको दूत हो, त्यहाँबाट पाहुना आउँदा उनीहरूको सवारीका लागि प्रयोग गर्ने गरेका छौं,’ नेपाल उद्योग परिसंघका अध्यक्षसमेत रहेका उनले भने, ‘हामी त्यही देशको प्रतिनिधित्व गर्दै कुनै कार्यक्रममा गयौं भने पनि त्यो सुविधा प्रयोग गरिन्छ । यसले दुई देशको सम्बन्धलाई आत्मीयता बनाउने हो ।’

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष तथा भियतनामका दूत राजेशकाजी श्रेष्ठको पनि यस्तै प्रतिक्रिया छ । ‘धेरै देशमा यस्तो व्यवस्था छ । कतिपय देशमा दूतलाई रातो पासपोर्ट पनि दिने गरिएको छ । हामीले भन्सार छुट लिन, गाडि झिकाउन, भत्ता खान यो सुविधा लिएको होइन,’ उनले भने, ‘सम्बन्धित देशको मन्त्री आउँदा, आपत् विपत् पर्दा झन्डा भएको गाडी प्रयोग गर्न दिने गरेका छौं । जस्तै बन्द हडताल, भूकम्प, कोरोना वा अन्य समयमा अपर्झट बैठकहरू आयोजना गर्नुपरे प्रयोग गर्ने गरेका छौं ।’

दुरुपयोग भएको छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘नेपालमा अवैतनिक दूतले गाडी दुरुपयोग गरेको भन्ने घटना भएको भोलिपल्ट नै एम्बुलेन्समा ड्रग्स ओसारपसार गरेको भनेर प्रहरीले प्रक्राउ गरेको थियो । दुरुपयोग भयो भन्दैमा सबै एम्बुलेन्स सेवा बन्द गर्ने त ?’

श्रेष्ठले थपे, ‘रातो पासपोर्टको पनि दुरुपयोग भएको छ, तर सबै रातो पासपोर्ट त बन्द गरिएन नि । सबै सज्जन छन् भन्ने छैन, तर एउटाले गल्ती गर्‍यो भने सबैलाई बन्द गरिदिनुभएन । विभिन्न देशहरूसँगको सम्बन्धका लागि यो आवश्यक छ ।’

को–को छन् दूत ?

विदेशी मुलुकको अवैतनिक दूत वा अवैतनिक महावाणिज्य दूतको नाममा नेपालका व्यापारिक घरानाले कूटनीतिक सुविधा लिने गरेका छन् । जसमा प्रख्यात चौधरी ग्रुप, अग्रवाल घराना, वैद्य समूह, खेतान समूहदेखि विवादास्पद व्यापारीसम्मको नाम भेटिन्छ ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको परिवारका दुई भाइ र तीन छोरासहित पाँचै जना अवैतनिक दूत छन् । उनका भाइ वसन्तकुमार चौधरी नेपालस्थित मोरक्कोका अवैतानिक महावाणिज्य दूत हुन् भने कान्छा भाइ अरुणकुमार चौधरी हंगेरीका अवैतनिक दूत हुन् । यस्तै, विनोदका छोरा बरुण नेपालका लागि कजाकस्तानका, अर्का छोरा राहुल माल्दिभ्सका र निर्वाण सर्बियाका अवैतनिक दूत हुन् ।

होटल मरिअटका सञ्चालक तथा चिनी उद्योग उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल नेपालका लागि इक्वेडरका अवैतनिक दूत हुन् । शंकर ग्रुपका साहिल अग्रवाल बोस्निया एन्ड हर्जगोभिना, अशोककुमार अग्रवाल गुयना र सुमितकुमार अग्रवाल पेरुका अवैतनिक दूत हुन् । वैद्य समूहका प्रमुख सुरज वैद्य नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्य दूत हुन् । करन वैद्य लात्भिया र किरण वैद्य युक्रेनका अवैतानिक महावाणिज्य दूत हुन् । उद्योगपति राजेन्द्र खेतान पोर्चुगलका, प्रेमप्रकाश खेतान टर्कीका र व्यापारी अजेयराज सुमार्गी बेलारुसका अवैतनिक दूत हुन् ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ भियतनाम र शोभाकर न्यौपाने लिथुवानियाका अवैतनिक दूत हुन् । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष तथा देउराली जनता फर्मास्युटिकल्सका अध्यक्ष हरिभक्त शर्मा स्लोभेनियाका अवैतनिक दूत हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा पञ्चकन्या ग्रुपका सञ्चालक प्रदीपकुमार श्रेष्ठ दक्षिण अफ्रिकाका दूत हुन् । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल चेक रिपब्लिकका दूत हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका सञ्चालक चन्द्र ढकाल इन्डोनेसियाका, महासंघकै उपाध्यक्ष दिनेश श्रेष्ठ माल्टा, मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठ अस्ट्रिया, लोकमान्य गोल्छा पोल्यान्ड, पर्यटन व्यवसायी वसन्तराज मिश्र चिलीका अवैतनिक दूत हुन् । गोल्डस्टार जुत्ताका लगानीकर्ता अमीरप्रताप राणा क्रोएसियाका, ज्योति ग्रुपका सञ्चालक पद्म ज्योति साइप्रसका र दुगड समूहका नरेश दुगड मेक्सिकोका अवैतनिक दूत हुन् ।

यस्तै, पर्यटन व्यवसायी विक्रम पाण्डे ग्रिसका लागि अवैतनिक महावाणिज्य दूतका रूपमा काम गर्छन् । नेपालका लागि बेल्जियमका अवैतनिक दूत भने पर्यटन व्यवसायी आङछिरिङ शेर्पा हुन् । बुल्गेरियाका लागि झोलाविक्रम थापा, क्यानडाका लागि बुद्ध बस्न्यात, कोलम्बियाका लागि विनयमान श्रेष्ठ, डेनमार्कका लागि हरि धरेल, इस्टोनियाका लागि नवराज दाहाल, इथियोपियाका लागि राजेन्द्र गिरी, फिजीका लागि परेश शाक्य अवैतनिक दूतको जिम्मेवारीमा छन् ।

जर्जियाका लागि शिवरत्न सारर्दा, इरानका लागि नरेश श्रेष्ठ, आयरल्यान्डका लागि मनोजबहादुर श्रेष्ठ, इटालीका लागि प्रतिमा राणा पाण्डे, लक्जेम्बर्गका लागि श्रीराम लामिछाने, मउरिससका लागि गणेश कार्की, मंगोलियाका लागि सेतान ग्युरमान श्रेष्ठ, नेदरल्यान्ड्सका लागि पेपिज्न ट्र्यापमेन, पपुवा न्युगिनीका लागि पूर्ण भण्डारी अवैतनिक दूत हुन् ।

रोमानियाका लागि नारायण बजाज, सेसेल्सका लागि नरेश दास, स्लोभाक गणतन्त्रका लागि पासाङ दावा शेर्पा, स्पेनका लागि अम्बिका श्रेष्ठ, स्विडेनका लागि गजेन्द्रबहादुर श्रेष्ठ, तान्जानियाका लागि राजेश चौधरी, जाम्बियाका लागि डेसबन्धु बस्नेत नेपालमा अवैतनिक दूतका रूपमा काम गरिरहेका छन् ।

प्रकाशित : पुस २४, २०७८ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्

शीतलहरले विद्यालय बन्द

कान्तिपुर संवाददाता

रौतहट — विद्यालयको अवस्था बुझ्न चन्द्रपुर नगरपालिकाका शिक्षा उपसचिव कृष्ण सिग्देल मंगलबार वडा–६ स्थित आधारभूत विद्यालय बेल्डी पुगे । विद्यालयका प्रधानाध्यापक मुकुन्द हुमागाईंले चिसोले बालबालिका पढ्न आउनै छाडेको र आएकाहरू जाडोले कठ्यांग्रिने गरेको सुनाए । 

पालिकाले शीतलहर बढेपछि केही दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । तराई–मधेसमा शीतलहरले जनजीवन प्रभावित छ । विद्यालय आउने बालबालिकाको संख्या पातलिएको छ । चिसोले पठनपाठन प्रभावित भएको गुनासोपछि विद्यालय बन्दको निर्णय गरिएको उपसचिव सिग्देलले बताए । ‘बालबालिकालाई स्वास्थ्यमा समस्या हुने भएपछि विद्यालय बन्दको निर्णय गरेका हौं,’ उनले भने, ‘चिसो कम भएपछि विद्यालय सञ्चालन गर्छौं ।’

शिक्षा विकास तथा सामाजिक इकाइ गौरका अनुसार रौतहटमा झन्डै ५ सयको हाराहारीमा विद्यालय छन् । ती सबैमा चिसोका कारण पठनपाठन प्रभावित भएको छ । चिसोकै कारण कटहरिया नगरपालिकाले केही दिनका लागि नगरक्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको नगर प्रमुख सियाराम कुशवाहाले बताए । त्यस्तै बौधीमाई नगरपालिकाले पुस २७ सम्म विद्यालय बन्दको निर्णय गरेको छ ।

देबाहीगोनाहीले पनि विद्यालय बन्द गरेको छ । गौर, ईशनाथ, राजपुर र बृन्दावनलगायत दक्षिणभेगका अधिकांश नगरपालिकाले विद्यालय बन्दको निर्णय गरेका छन् ।

चिसोले प्रदेशका सबै जिल्ला प्रभावित छन् । सबैभन्दा धेरै दलित बस्तीका बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । प्रशासनले भित्रीगाउँका चोकमा दाउरा बाल्न पालिकालाई अनुरोध गरेको छ । पसल, सार्वजनिकस्थल, सरकारी कार्यालयलगायतमा मानिसको चहलपहल पातलो छ । सर्वसाधारणले कतिपय चोकमा आगो बालेर चिसो भगाउने प्रयास गरिरहेका छन् । चिसो बढेपछि दम भएका वृद्धवृद्धालाई बढी समस्या हुने चिकित्सक कुन्दन चौधरीले बताए । घरमै सुरक्षित भएर बस्न उनले आग्रह गरे ।

प्रकाशित : पुस २४, २०७८ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×