बतासलाई सेती पनि : नदी नै थुनेर ३५ वर्षसम्म ढुंगा–गिट्टी निकाल्न दिने तयारी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बतासलाई सेती पनि : नदी नै थुनेर ३५ वर्षसम्म ढुंगा–गिट्टी निकाल्न दिने तयारी

पशुपतिमा तीर्थालुका लागि भारतले बनाइदिएको धर्मशालामा ‘फोर स्टार’ होटल सञ्चालन गरेको बतास समूह नारायणहिटीभित्र रेस्टुरेन्ट चलाउन मात्र होइन, पोखराको सेती नदी थुन्ने योजनामा पनि सक्रिय
दीपक परियार

पोखरा — पोखरा महानगरले सेती नदी थुनेर ३५ वर्षसम्म रामघाटबाट ढुंगा–गिट्टी, बालुवा निकाल्न बतास समूहलाई दिन लागेको छ । ६ अर्ब १९ करोड बजेट भएको पोखरा महानगरले वार्षिक जम्मा ७ करोडका लागि सेती नदी ‘बी रिभर माइनिङ’ कम्पनीलाई जिम्मा लगाउने तयारी गरेको हो । 

सेतीले बगाएर ल्याउने बालुवा रामघाटमा आइपुग्छ । बाँध बनाएर नदी थुन्ने र ढुंगा–गिट्टी तथा बालुवा उत्खनन गर्ने बतासको योजना छ । ‘सेतो सुन’ को खानी हात पार्न बी रिभर माइनिङ प्रालि खोलेर बतास समूहले दुई वर्षअघि प्रक्रिया अगाडि बढाएको हो ।

बतास समूहकै योजनामा निजी कम्पनीबाट तयार भएको प्रस्तावअनुसार महानगरले सार्वजनिक–निजी साझेदारी ऐन र नियमावली २०७५ बनाएको थियो । ऐन र नियमावली बनेपछि त्यसकै आधारमा पोखराका प्रमुख प्राकृतिक सम्पदा निजी कम्पनीको जिम्मा लगाउने शृंखला चलेको छ ।

यसअघि महानगरले सेती खोच र डेभिज फल्स ४० वर्षका लागि कर्केनकुमार गुरुङको सेती क्यान्योन प्रालिलाई भाडामा दिने सम्झौता गरिसकेको छ । ती आयोजना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको चरणमा छन् ।

पोखरास्थित सेती नदीको रामघाट क्षेत्र, जहाँ निजी कम्पनीको व्यापारका लागि स्थायी बाँध बनाउने तयारी छ । तस्बिर : दीपक परियार/कान्तिपुर

सेती थुन्ने बतासको योजनाअनुसार महानगरले २०७७ कात्तिक ७ मा सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गरेको थियो  । सुनियोजित रूपमै बतासकै कम्पनी छनोटमा पर्‍यो । प्रारम्भिक सम्भाव्यता अध्ययन गरी कम्पनीले महानगरलाई दिएको प्रतिवेदनअनुसार रामघाटको पुछारमा ५ मिटर अग्लो बाँध बनाएर सेती नदी थुनिनेछ । यसो गर्दा जम्मा हुने ढुंगा–गिट्टी, बालुवा मेसिनबाट उत्खनन गरी बिक्री गरिनेछ ।

बतासको प्रस्तावमा रोयल्टीबापत दुई वर्षसम्म वार्षिक ७ करोड रुपैयाँ महानगरलाई बुझाउने उल्लेख छ । त्यसपछि प्रत्येक २/२ वर्षमा दुई प्रतिशतका दरले वृद्धि हुने र वार्षिक कुल आम्दानीको पाँच प्रतिशत छुट्टै रोयल्टी बुझाउने प्रस्ताव छ । ढुंगा, गिट्टी दोहनका लागि सेतीको प्राकृतिक बहाव नै रोक्ने कम्पनीको प्रस्तावलाई महानगरले सजिलै स्वीकार गरेको छ ।

भूगर्भविद् एवं वातावरणविद्ले भने रामघाटमा नदी थुनिए अकल्पनीय विपत्ति आउने चेतावनी दिइसकेका छन् । अहिले पनि बर्खामा प्राकृतिक रूपमा सेती थुनिएर वरपर खतरा निम्त्याउँछ । प्राकृतिक बहावलाई रोक्न बाँध बनाएर सेती थुनिए झनै ठूलो जोखिम निम्तिने विज्ञ बताउँछन् । पोखराका स्थानीय, नागरिक समाज, भूगोलविद्, राजनीतिक दलले समेत रामघाट व्यक्तिलाई सुम्पने महानगरको तयारीको विरोध गर्दै आएका छन् ।

नारायणहिटीमा रजाइँ

२०७७ चैत २७ मा बसेको महानगरको ४७ औं कार्यपालिका बैठकले प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेपछि पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति डा. केशरजंग बराल मगरको नेतृत्वमा विज्ञ टोली गठन गरिएको थियो । टोलीमा चार्टर्ड एकाउन्टेन्ट र कानुनविद्समेत छन् । यही टोलीले ठेक्कामै दिने भए वार्षिक २२ करोड रुपैयाँ भाडा लिनुपर्ने सिफारिस गरेको छ ।

अहिले सम्झौताका लागि महानगर बी रिभर माइनिङसँग वार्ताको चरणमा छ । महानगरका तर्फबाट कार्यवाहक प्रमुख एवं राजस्व परामर्श समितिकी संयोजक मञ्जुदेवी गुरुङ संयोजक छिन् । जहाँ बतास अर्गनाइजेसनले विज्ञको सिफारिसभन्दा कम रकममा नदी लिन जोडबल गरिरहेको छ । महानगरका प्रवक्ता धनबहादुर नेपालीको भनाइअनुसार पनि प्राकृतिक स्रोतमा मोलमोलाइ जारी छ । ‘वार्षिक १५ देखि १८ करोड रुपैयाँसम्म रोयल्टी बुझाउन बतास तयार भएको छ ।

हाल रामघाटमा रहेका अव्यवस्थित बसोबासको व्यवस्थापन, मजदुरको व्यवस्थापन र वातावरणीय पक्षसँग सम्बन्धित रहेर बताससँग वार्ता भइरहेको छ ।’ उनका अनुसार पुस अन्तिममा बस्ने कार्यपालिका बैठकमा सम्झौताको मस्यौदा पेस हुनेछ । कार्यपालिका बैठकबाट मस्यौदा पारित गरेर बी रिभर माइनिङबीच सम्झौता गर्ने महानगरको तयारी छ ।

पोखराको सेती खोंच क्षेत्र । फाइल तस्बिर : कान्तिपुर

बी रिभर माइनिङले मोरेखरे घाटमा पनि त्यस्तै प्रकृतिको बाँध बनाउन लागेको छ, यसका लागि महानगरले सम्झौताको तयारी गरिसकेको छ । यसका लागि मोरेखरे रिभर माइनिङ प्रालि नामक कम्पनी खडा गरिएको छ । मोरेखरेमा वार्षिक ३ करोड रुपैयाँ रोयल्टी बुझाउने प्रस्ताव गरिएको छ ।

यस्ता सम्झौता अघि नबढाउन उच्च अदालत पोखरामा रिटसमेत दायर भएको थियो । अदालतले रामघाटका सम्बन्धमा सम्झौता नभइसकेकाले अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला आदेश दिएको थियो । सम्झौता भइसकेको सेती खोच र मोरेखोला आयोजना पनि रोक्न अदालतले आदेश दिएन ।

ढुंगा-गिट्टी निकाल्न ३५ वर्षसम्म सेती थुन्‍ने योजना

सार्वजनिक–निजी साझेदारीका नाममा सार्वजनिक सम्पत्ति ठेकेदारको जिम्मा दिने योजनामा बलियो साथ भने महानगरका प्रमुख पदाधिकारीसहित पूर्वप्रमुख प्रशासकीय अधिकृत महेश बरालको पनि छ । बताससँग सम्झौता पूरा नहुँदै गत मंसिर ८ मा मन्त्रिपरिषद् निर्णयबाट सहसचिवको सरुवा गर्दा बराल पनि परेका थिए । उनी अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेका छन् ।

बरालले यसअघि २०७१ मा पनि तत्कालीन पोखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृत भएर काम गरेका थिए । त्यतिबेला ६ महिनामै उनको सरुवा भएको थियो । २०७७ साउनदेखि पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा फर्किएका हुन् । दोस्रोपल्ट १६ महिना पोखरा बस्दा उनी र महानगर प्रमुख मानबहादुर जीसीको गठजोडले सार्वजनिक सम्पत्ति ठेक्कामा लगाउने काम धमाधम अघि बढेको छ ।

हालका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले सार्वजनिक–निजी साझेदारी परियोजना आफैंमा खराब अवधारणा नभएकाले कुनै पनि तर्फबाट सरकारलाई घाटा हुने गरी दिन नहुने बताए । ‘महानगर, स्थानीय, वातावरण, भूगोल र प्रकृतिलाई असर नगर्ने गरी दिगो स्रोतका रूपमा उपयोग गर्न सकिन्छ,’ उनले भने, ‘कसैको चाहनाअनुसार हुन लागेको हो भने अगाडि बढाउनु हुँदैन ।’ आफू नयाँ भएकाले यस विषयमा अध्ययन गरिरहेको उनले बताए ।

धर्मशालादेखि नारायणहिटीसम्म

सार्वजनिक सम्पत्तिमा हात हाल्न उद्यत आनन्द बतासले राजनीतिक पहुँचको बलमा पशुपति धर्मशालामा होटल चलाएका छन् । पशुपति घुम्न आउने नेपाल तथा भारतका तीर्थयात्रीको सुविधाका लागि भारत सरकारले धर्मशाला बनाइदिएको थियो । तर सरकारसँग धर्मशाला लिएर उनले होटल आनन्द पशुपतिमा चलाएका छन् ।

आफूले धर्मशालामा चारतारे होटल चलाएर सुविधा दिएको दाबी बतास समूहले गर्दै आएको छ । ‘गौशालादेखि पूरै काठमाडौंमा साना–ठूला होटलको अभाव छैन, होटलमा पैसा तिर्न नसक्ने विपन्नलाई लक्षित गरेर धर्मशाला बनाइएको हो तर विदेशीले अनुदानमा बनाइदिएको धर्मशाला पनि पहुँचका भरमा बतासले पाए ।’ चार सय जना सुत्न मिल्ने गरी बनाएको धर्मशालाको आन्तरिक संरचना भत्काएर अहिले महँगा कोठा बनाइएको छ ।

केपी ओली नेतृत्वको सरकारका पाला पशुपति क्षेत्र विकास कोषले धर्मशाला बतासलाई जिम्मा लगाएको थियो । वर्षको १ करोड ५ लाख ४१ हजार भाडा लिने गरी १५ वर्षका लागि २०७६ वैशाख ३० मा बतास समूहसँग सम्झौता भएको थियो । यही धर्मशालामा बतासको कर्पोरेट कार्यालयसमेत राखिएको छ । त्यस्तै प्रांगणमा पुराना गाडीको प्रदर्शनीस्थल पनि बनाइएको छ ।

प्रकाशित : पुस २२, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्

सहरमा छाउ गोठ छैनन्, छाउ ‘बिल्डिङ’ छन्

दीपक परियार

पोखरा — एघार वर्षको उमेरमा पहिलोपल्ट महिनावारी हुँदा आशिका केसी १४ दिनसम्म अध्यारो कोठामा बसिन् । घाम नपस्ने बन्द कोठाको उकुसमुकुस सम्झँदा अहिले पनि उनी बिरक्तिन्छिन् । १३ वर्ष पुगेकी उनलाई त्यतिबेलाको बारबन्देज भोग्नुपर्दा महिनावारी नै नभइदिए हुन्थ्यो जस्तो लाग्छ । 

पोखरा–३० पावरहाउसको गुरुकुल विद्याश्रम स्कुलमा आठ कक्षामा पढ्ने छात्राले सोमबार आफ्नो महिनावारी अनुभव सुनाए । ‘त्यतिबेला के भएको भन्ने नै बुझिएन,’ आशिकाले भनिन्, ‘घाम पनि देख्न नपाउने कोठामा बस्नुपर्‍यो । स्कुल पनि जान पाइएन ।’ अहिले पनि महिनावारी हुँदा उनी भान्सा र पूजा कोठामा प्रवेश पाउँदिनन् । बुबा र भाइसँग नजिक पर्दिनन् ।

१३ वर्षीया सजना विकलाई तीन महिनाअघि पहिलोपल्ट महिनावारी भयो । ‘पहिलेदेखि चलिआएको परम्परा’ भन्दै उनलाई पनि त्यसरी नै बन्द कोठामा राखियो । ‘घरमा कसैसँग पनि नजिक पर्न दिइएन,’ उनले सुनाइन्, ‘परिवारले यस्तो परम्परा बदल्ने हामी को नै हौँ र भन्नुहुन्छ ।’ १३ वर्षकै विमिशा गुरुङले भने पहिलोपल्टको महिनावारीमा १४ दिन नै बार्नु नपरे पनि हरेकपटक तीन दिन बार्ने गर्छिन् । अंकिता गुरुङ पहिलोपटक महिनावारी हुँदा उनकी आमाले उनलाई ‘अब यौन सम्पर्क गरे बच्चा बस्छ’ भनेको सम्झिन्छिन् ।

सेवा र पैरवीको माध्यमबाट महिला सशक्तीकरणमा सक्रिय संस्था जोन्टा क्लब अफ पोखराले ‘मर्यादित महिनावारी’बारे विद्यार्थीमाझ सचेतना कार्यक्रम गरेको छ । क्लबले मदन पुरस्कार विजेता कृति ‘खलंगामा हमला– एक नर्सको डायरी’की लेखक राधा पौडेलको ‘राधा पौडेल फाउन्डेसन’सँग सहकार्य गरिरहेको छ । क्लब र फाउन्डेसनले मर्यादित महिनावारीबारे सचेतना अभियान नै चलाइरहेका छन् । कार्यक्रममा फाउन्डेसनसँग जोडिएकी अभियन्ता एवं नर्स मन्दिरा श्रेष्ठले गुरुकुलका विद्यार्थीलाई महिनावारीका भ्रम र यथार्थबारे प्रस्ट्याएकी थिइन् ।

उनले महिनावारी एक प्राकृतिक प्रक्रिया भएको र मानवअधिकारसँग समेत जोडिएको विषय भएको विद्यार्थीलाई बताइन् । ‘महिनावारी पाप हो, रजस्वला हुँदा बग्ने रगत फोहोर हो, महिनावारी भएपछि मठमन्दिर, धार्मिक कार्यक्रममा भाग लिनुहुँदैन, भान्सामा प्रवेश गर्नुहुँदैन भन्ने सबै भ्रम हुन्,’ उनले भनिन्, ‘बोटबिरुवा, अचार छोए कुहिन्छ भन्ने कतै पनि प्रमाणित छैन । त्यसैले यी कुरा तथ्यमा आधारित होइनन् ।’ महिनावारी हुँदा हिँड्डुल गर्न नदिने, पोषिलो खाना नपाउने, विद्यालय जान नपाउने, केही छुन नपाउने हुँदा बालिका तथा किशोरीको मनोबल खस्किने उनले सुनाइन् । ‘यही कारणले कतिपयले विद्यालय छाड्नुपरेको छ,’ उनले भनिन्, ‘अपमानित महसुस गर्ने भएकाले मानसिक रुपमा समेत उनीहरू कमजोर बन्छन् ।’

कर्णाली, सुदूरपश्चिममा महिनावारी हुँदा छाउ गोठमा राख्ने चलन अझैसम्म भएकाले पनि बालिका बलात्कृत हुने, सर्पले टोक्ने, कानमा किरा पस्नेजस्ता समस्या रहिरहेको उनले सुनाइन् । काठमाडौं, पोखराजस्ता ठूला सहरमा समेत अझै महिनावारी बार्ने नाममा घरकै अँध्यारो कोठामा थुनेर राख्ने क्रम बन्द नभएको उनको अनुभव छ । ‘कर्णाली र सुदूरपश्चिममा छाउ गोठ छन्,’ उनले भनिन्, ‘सहरमा छाउ बिल्डिङ छन् ।’

उनले फाउन्डेसनसँग जोडिएर ६ महिनाअघिदेखि मर्यादित महिनावारी अभियान सुरु गरेकी हुन् । प्रदेश १, २, बागमती र लुम्बिनीमा अभियान लिएर पुगिसकेकी छन् । उनीसँगै काठमाडौंकै मिलाशा नकर्मी र सुन्दर विशंखे जोडिएका छन् । मिलाशाले महिनावारी हुँदा ‘भान्सा र मन्दिर छोए भगवान रिसाउँछन्’ भन्नु एक मिथकमात्रै रहेको बताइन् । ‘परापूर्वकालमा महिनावारी हुँदा प्याड लगाउने चलन थिएन‚ त्यसैले भान्सामा छिर्दा फोहोर हुन्छ भनेर प्रवेशमा रोक लगाइएको हो,’ उनले भनिन्, ‘अहिले समय बद्लिएको छ, प्याडदेखि महिनावारी कपसम्मको समय आइसकेको छ । सफासुग्घर भएर भान्सामा प्रवेश गर्दा केही हुँदैन ।’ पहिला मन्दिरसमेत वनको बीचमा हुने र महिनावारी भएका महिला मन्दिर जाँदा वन्यजन्तुले रगतको गन्ध सुँघेर शिकार गर्न सक्ने डरले महिलालाई वञ्चित गराइएको उनले बताइन् । ‘त्यति कारणले अहिले मन्दिर प्रवेश गर्न पाइन्न भन्नु जायज होइन‚’ उनले भनिन् ।

आहारविद् श्रीविद्या रघुनाथन कायस्थले महिनावारीका बेला केरा र दही खानु हुँदैन भन्नु निराधार रहेको बताइन् । उनी भन्छिन्, ‘यस्तो बेलामा झन् पोषिलो खानेकुरा चाहिन्छ । बालिकालाई मन पर्ने स्वस्थ खानेकुरा दिनुपर्छ ।’ महिनावारीमा पोषिलो खानेकुरा नपाउँदा बालिकामा कुपोषणसमेत देखिने गरेको उनी बताउँछिन् ।

गुरुकुल विद्याश्रमका प्रधानाध्यापक मिलन केसी पहिलेदेखि चलिआएका संस्कार ठिक नै छन् भन्नु गलत हुने बताउँछन् । किशोरावस्थामै त्यस्ता गलत संस्कारबारे सचेत गराउँदा पनि समाज परिवर्तन हुने उनले बताए ।

‘हाम्रोमा सडक, पूललगायत पूर्वाधार निर्माणलाई मात्रै विकास भन्ने चलन छ,’ उनले भने, ‘तर‚ गलत संस्कारलाई बदलेर समाजलाई आधुनिकतातर्फ लैजानु पनि ठूलो विकास हो ।’ संस्कार, संस्कृतिलाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने उनको तर्क छ ।

क्लबकी उपाध्यक्ष मोनिका थापाका अनुसार कोभिड महामारीको बेला भर्चुअल रुपमा पोखराका विभिन्न विद्यालयमा मर्यादित महिनावारीबारे सचेतना कार्यक्रम गरिएको थियो । गुरुकुलमा भने गण्डकी प्रदेशमै पहिलोपटक भौतिक उपस्थितिमा कार्यक्रम गरिएको हो ।

क्लबकी सचिव रोजिना रञ्जित विजुक्छेले एक विद्यालयबाट सुरुवात गरेर गण्डकी प्रदेशभर सचेतना कार्यक्रम गरिने बताइन् । ‘तालिमपछि विद्यार्थीकै बीचबाट नेतृत्व छानिनेछ,’ उनले भनिन्, ‘तिनै विद्यार्थीले अन्य विद्यालयमा गएर मर्यादित महिनावारीबारे आफ्नो अनुभव सुनाउनेछन् ।’ क्लबकी सदस्य नेलिशा केसीले गुरुकुल विद्याश्रमलाई पहिलो ‘मर्यादित महिनावारीमैत्री विद्यालय’ घोषणा गर्ने तयारी गरेको बताइन् । ‘मर्यादित महिनावारीबारे विद्यार्थीले बुझ्ने र अरुलाई बुझाउने भइसकेपछि त्यस्तो घोषणा गरिनेछ,’ उनले भनिन् ।

कार्यक्रमपछि कक्षा आठकै छात्र अमित राना मगरले विद्यालयबाट फर्किएपछि घरमा मर्यादित महिनावारीबारे परिवारलाई सचेत गराउने बताए । अर्का विद्यार्थी कृसु गुरुङ र रजिल सुनारले भने, ‘अब कसैले प्याड किन्न पठाए लजाउँदैनौं ।’

प्रकाशित : पुस २०, २०७८ १२:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×