२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७
माओवादी महाधिवेशन

बेपत्ता पारिएका व्यक्तिका परिवारले न्याय पाउन् : यादव

सबै जनताको संविधानको रुपमा परिणत गर्नुपर्ने आवश्यकता छ । संविधानको संशोधन अहिलेको अत्यन्तै आवश्यक कार्य हो’

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माओवादी आन्दोलन र १० वर्षे युद्वताका बेपत्ता पारिएका व्यक्तिका परिवारले अब न्याय पाउनुपर्ने बताएका छन् ।

बेपत्ता पारिएका व्यक्तिका परिवारले न्याय पाउन् : यादव

‘हामीले ठूल्ठुला क्रान्तिको नेतृत्व गर्‍यौं, आन्दोलन र परिवर्तनहरूपछि कम्युनिष्ट नेताहरूको नेतृत्वमा सरकारहरू बनेका छन् । माधवजी, प्रचण्डजी पनि प्रधानमन्त्री बन्नुभयो । तर अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोग अलपत्र छ,’ यादवले भने, ‘जनयुद्धताका बेपत्ता पारिएका परिवारले अहिलेसम्म पनि न्याय पाएका छैनन्, उनीहरूले न्याय पाऊन् ।’

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले माओवादी केन्द्रको महाधिवेशनले उत्पीडित शोषित वर्गको अधिकार, पहिचान र समावेशिताको मुद्दालाई सम्बोधन गर्न सक्नुपर्ने बताए । ‘वास्तवमा हाम्रो मुलुकमा वर्ग विभेद र वर्ण विभेद पनि छ, वर्ग विभेद शोषित वर्गको मुक्तिका लागि, वर्ण विभेद उत्पीडित जातजाति र राष्ट्रियताहरू, मधेसी, आदिवासी जनजाति, दलित लगायत जातजातिहरूको मुक्तिका सवालहरू कम्युनिष्ट आन्दोलनसँग जोडिएर आएका सवालहरू अहिले पनि अलपत्र परेका छन्, यी राष्ट्रिय सवालहरूलाई सम्बोधन नगरिकन राष्ट्रिय एकता पनि स‌ंभव हुदैन, र मुलुकको आर्थिक विकास र समृद्धि पनि संभव हुँदैन,’ उनले भने, ‘उत्पीडित शोषित वर्गको अधिकार, पहिचान र समावेशितालाई सम्बोधन गर्नका लागि यो महाधिवेशनले ठोस् दिशा दिन सकोस् ।’

उनले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता उपलब्धिहरु अझै पनि धरापमा रहेको आशंका व्यक्त गरे । अध्यक्ष यादवले विगतका प्रधानमन्त्रीहरूले गरेको गल्तीलाई गनेर मात्रै समस्याको समाधान नहुने बताए । ‘हामीले संविधानका कुरा गर्छौं, संविधान जारी हुँदाका बखत देशको आधाभन्दा ठूलो भूभागका जनताले कालो दिनको रुपमा मनाएका थिए, केहीले बत्ती पनि बाले । तर अब यो संविधानलाई बत्ती बाल्नेको मात्रै होइन, जसले कालो दिनको रुपमा मनाएका थिए, ती सबै जनताको संविधानको रुपमा परिणत गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘यो संविधानको संशोधन अहिलेको अत्यन्तै आवश्यक कार्य भएको छ ।’

अध्यक्ष यादवले अब संसदलाई अवरुद्ध गरेर केही पनि प्राप्त नहुने बताए । ‘संसदलाई अवरुद्ध गर्ने साथीहरू पनि यही हुनुहुन्छ । उहाँहरू माधवजीलाई देखाएर संसद अवरुद्ध गरिरहनुभएको छ । माधवजी पनि यही हुनुहुन्छ काठमाडौंमै । अनि तपाईंहरू सबै लालझण्डा फहराएर संगठन विस्तारमा लाग्नुभएको छ, अनि फेरि संसद अवरुद्ध गरेर के हुन्छ ?,’ उनले प्रश्न गरे । उनले दलहरूले अब मुलुकको हितमा नयाँ ढङ्गले सोच्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित : पुस ११, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?