काठमाडौँ — नेपाली कांग्रेसको सभापति चयनका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दैछ । जसअनुसार सभापति पदका उम्मेदवार शेरबहादुर देउवा जित नजिक पुगेका छन् । ३५१८ मत गनिसक्दा देउवाले २१०६ मत पाएका छन् ।
शेखर कोइरालाले भने १३८४ मत पाएका छन् । बाँकी २७ मत बदर भएको छ । राष्ट्रियसभा गृहमा जारी मत गणनामा देउवा ७२२ मतान्तरले अगाडि छन् । निर्वाचन समितिका अनुसार अब बढीमा १००० मत मात्रै गणना गर्न बाँकी छ ।
राष्ट्रिय सभागृहमा मंगलबार राति १२ बजेतिर मतगणना सुरु भएको हो । अबको केही बेरमै मतगणना सम्पन्न हुने बताइएको छ ।
अरु पदाधिकारी र सदस्यहरूको मतगणना भने कांग्रेस पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । यसका लागि सोमबार राति नै मतपेटिका सानेपा लगिएको थियो ।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार पुन: मतदान भएको हो । दिउँसो साढे ३ बजेपछि झन्डै ६ घण्टाको अवधिमा ४ हजार ५६२ जनाले मतदान गरेका छन् ।
महाधिवेशनमा कूल ४ हजार ७४३ मतदाता थिए । सोमबारको मतदानमा भने ४ हजार ६७९ प्रतिनिधिले मतदान गरे । दोस्रो चरणको निर्वाचनका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा छ ।
