मतपरिणाम : देउवालाई ६०० बढी मतको अग्रता

मंसिर २९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको सभापति चयनका लागि सम्पन्न मतदानको परिणाम आउने क्रम जारी छ । शेरबहादुर देउवाले अग्रता कायम गरेका छन् ।

प्रतिद्वन्द्वी शेखर कोइरालालाई उनले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । राष्ट्रियसभा गृहमा जारी मत गणनामा पछिल्लो समयमा ३०६३ मतगणना गरिएकोमा देउवाले १८५० मत ल्याएका छन् भने कोइरालाले ११८९ मत ल्याए । यसअनुसार देउवाले शेखरलाई ६६१ मतले पछि पारेका छन् ।

बाँकी २४ मत बदर भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार राति १२ बजेतिर मतगणना सुरु भएको हो । सभापतिका लागि तीनवटा ट्यांकीमा मत खसालिएको थियो । ती तीनवटै ट्यांकी राष्ट्रिय सभागृहमा राखेर मतगणना भइरहेको छ । रातभरमा मतगणना सम्पन्न भइसक्ने आकलन गरिएको छ ।

अरु पदाधिकारी र सदस्यहरूको मतगणना भने कांग्रेस पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । यसका लागि सोमबार राति नै मतपेटिका सानेपा लगिएको थियो ।

पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार पुन: मतदान भएको हो । दिउँसो साढे ३ बजेपछि झन्डै ६ घण्टाको अवधिमा ४ हजार ५६२ जनाले मतदान गरेका छन् ।

महाधिवेशनमा कूल ४ हजार ७४३ मतदाता थिए । सोमबारको मतदानमा भने ४ हजार ६७९ प्रतिनिधिले मतदान गरे । दोस्रो चरणको निर्वाचनका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा छ ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully