पराजित भए पनि प्रकाशमान उभिएको ठाउँमा उभिनु मेरो कर्तव्य : विश्वप्रकाश शर्मा

मंसिर २८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका प्रत्याशी रहेका विश्वप्रकाश शर्माले सभापतिमा शेरबहादुर देउवालाई सघाउने बताएका छन् । अन्तिम समयमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका शर्माले सामाजिक सञ्जालमार्फत देउवालाई समर्थन गरेको घोषणा गरेका छन् ।

उनले लेखेका छन्, 'सर्वसम्मति सर्वोत्तम !  दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु - नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ ! पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु  ।'

— Bishwa Prakash शर्मा (@bishwaprakash77) December 14, 2021

देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएकोले आफूले पनि देउवालाई समर्थन गर्ने निर्णय गरेको सिंहले बताएका छन् । समर्थनबारे जानकारी दिँदै उनले भने, 'देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएको छ। उहाँले यस पटक मलाई हेल्प गर्नुस् भन्नुभएको छ । विधान संशोधनदेखि लिएर कमीकमजोरी सच्याइन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।'

सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमध्ये ७६ मत बदर भएको थियो ।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७०२, सिंहले ३७१ निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully