काठमाडौँ — पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विमलेन्द्र निधिले पनि साथ दिने भएका छन् ।
देउवा दोस्रो चरणमा आफूलाई समर्थन गर्न भन्दै मंगलबार बिहान निधि निवास वानेश्वर पुगेका थिए । निधिले आफ्नो समर्थन देउवालाई नै हुने बताएका छन् ।
यसअघि मंगलबार बिहानै प्रकाशमान सिंहले पनि देउवालाई नै समर्थन गर्ने घोषणा गरिसकेका छन् । सिंह र निधिको समर्थनले दोस्रो चरणमा देउवा बलियो बन्न पुगेका छन् ।
१४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा देउवा, कोइराला र सिंहसहित विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए ।
पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।
अब दोस्रो चरणमा सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । दुवै नेताले आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास थालेका हुन् । दुवैले आफूनिकटलाई मतदातालाई रिझाउन र नेताहरूलाई फकाउन परिचालन गरेका छन् ।
