कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माको उम्मेदवारी घोषणा

मंसिर २३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस मीन विश्वकर्माले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

कांग्रेसको १४ औँ महाधिवेशन शुक्रबारदेखि सुरू हुदैछ । यो महाधिवेशनबाट कांग्रेसले विभिन्न समावेशी समूहबाट ८ जना सहमहामन्त्री हुने व्यवस्था गरेको छ । 

त्यही व्यवस्थाअनुसार आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको नेता विश्वकर्माले बताए । उनी सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् । ‘मैले सभापतिज्यूलाई भेटेर सहमहामन्त्रीमा उठ्छु भनिसकेको छु, सबै उम्मेदवारको टुंगो लाग्न अझै समय लाग्न सक्छ,’ उनले भने, ‘त्यसैले मैले अहिले तपाईंहरूमाझ आफ्नो उम्मेदवारी घोषणा गर्दैछु ।’

उनले कांग्रेस नै सबैभन्दा पहिलो र ठूलो समावेशी पार्टी भएको दाबी गरे । नेपाल दलित संघको केन्द्रीय अध्यक्षसमेत रहेका विश्वकर्मा १२ औँ र १३ औँ महाधिवेशनमा निरन्तर केन्द्रीय सदस्य निर्वाचित हुन् । हाल प्रतिनिधिसभा सदस्य समेत रहेका विश्वकर्मा पूर्व बाणिज्यमन्त्री र संविधानसभा सदस्य समेत हुन् । 

‘कांग्रेस जन्मिँदैदेखि समावेशितालाई जोड दिएको थियो, दलित समुदायको लागि मात्रै होइन, समग्र समावेशी समूहका लागि कांग्रेस नेतृत्वका सरकारले धेरै काम गरेका छन्,’ उनले भने, ‘अहिलेको समावेशी संविधान जारी गर्ने कुरामा पनि कांग्रेसको अमूल्य योगदान छ।’

उनले बीपीले विवेकबाट सुरू गरेको समावेशीकरणलाई वर्तमान सभापति शेरबहादुर देउवाले विधानमार्फत कार्यान्वयनमा लगेको बताए । ‘कांग्रेसको संगठन विस्तार हुदै गर्दा त्यो बेला समावेशी विधान थिएन, संविधान पनि थिएन, तर बीपीले कांग्रेसलाई समावेशी बनाउनुभएको थियो,’ उनले भने, ‘अहिले संविधानमात्रै होइन, कांग्रेसको विधान पनि समावेशी छ । र, कांग्रेस पनि समावेशी छ, त्यहीकारण मैले सहमहामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully