कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
एमाले महाधिवेशन

सर्वसम्मत गराउने ओलीको कोसिस, भने- ‘अब हामीले काँचा व्यवहार नगरौं’

काठमाडौँ — अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धामा जान नहुने भन्दै  बन्द सत्रमा कडा सम्बोधन गरेपछि एमालेभित्र मुख्य पदहरूमा जसरी पनि सहमति गराउने कोसिस तीव्र भएको छ । चुनावी प्रतिस्पर्धाका कारण एक दिन महाधिवेशन लम्बिने अवस्था देखिइरहेका बेला एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आइतबारै महाधिवेशन समापन हुने जानकारी दिएका छन् ।

सर्वसम्मत गराउने ओलीको कोसिस, भने- ‘अब हामीले काँचा व्यवहार नगरौं’

ओलीले बन्द सत्रमा सम्बोधन गरिरहेका बेला सचिव तामाङले नै तोकिएकै समयमा महाधिवेशन सक्ने जानकारी बाहिर ल्याएपछि एमालेभित्र सर्वसम्मतिको विषयले आकार लिन लागेको संकेत देखिएको छ । बन्द सत्रमा ओलीले प्रतिस्पर्धा विपक्षीसँग चुनाव लड्दा हुने तर आफ्नो पार्टीभित्र एकता हुनुपर्ने बताएका छन् ।

अहिले उनीविरुद्ध उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिने कोसिस गरेका छन् । रावलले मानेको अवस्थामा अन्य पदहरूमा मिल्ने अवस्था देखिएको एक नेताले बताए । महासचिवमा मुख्यतः विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ । सहमति हुने सर्तमा पौडेल र पोखरेल दुवैले आफूहरू ओलीको निर्णय मान्न तयार रहेको संकेत ओलीलाई दिएका छन् । तर सबै नमानेको अवस्थामा भने प्रतिस्पर्धा हुन सक्छ ।

‘आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा गर्नु हुन्न’ ओलीले सम्बोधन गर्दै भनेका छन्, ‘आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा गर्नु हुन्न । पार्टीकै प्रभाव प्रतिष्ठान र एकता खँदिलो हुने कुरामा प्रभाव पार्ने काम नगरौं । फेरि पनि पालो आउँछ । सानो भए पनि हाम्रो अहिले नभए फेरि पालो आउँछ । हतारोका साथ प्रतिस्पर्धा गर्ने, लोकतान्त्रिक अभ्यास प्रतिस्पर्धालाई मात्र नभनौं ।’

उनले अब पार्टीमा काँचा व्यवहार नगर्न आग्रह गरेका छन् । ‘अब पनि हामीले काँचा व्यवहार नगरौं । अब पनि हाम्रा व्यवहारहरू सामूहिकतातर्फ उन्मुख भएनन् भने जिम्मेवारीपूर्वक नेपालको पार्टीका र दुनियाँका लागि नयाँ सफलताका साथ अघि बढ्दैछ भन्ने सन्देश दिनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘मैले विश्वास लिएको छु दुनियाँमै पूर्ण लोकतान्त्रिक अभ्यास र सहमति हुनुपर्छ ।’

प्रकाशित : मंसिर ११, २०७८ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?