प्रधानन्यायाधीश आर्थिक विचलनमा लिप्त हुनुभयो : वरिष्ठ अधिवक्ता थापा

कार्तिक २३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आर्थिक विचलनमा लिप्त भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन् । अहिलेसम्म न्यायालयमा भ्रष्टाचार छ र आर्थिक विचलन छ भनेर अमूर्त रूपमा भनिरहेकोमा अब प्रष्ट रूपमा प्रधानन्यायाधीश जबरा नै आर्थिक विचलनमा लिप्त भएको भन्नुपर्ने उनले बताए । 

संवैधानिक कानुन व्यवसायी मञ्चले मंगलबार आयोजना गरेको 'न्यायपालिकाको वर्तमान संकट एवं निकास' विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता थापाले भने, 'अहिलेको जो प्रधानन्यायाधीश हुनुहुन्छ पैसामा लिप्त हुनुभयो, आर्थिक विचलनमा लिप्त हुनुभयो ।'

अब प्रष्ट रूपमा प्रधानन्यायाधीश भ्रष्टाचार गर्छन् भन्ने बेला आएको उनको भनाइ थियो । 'प्रधानन्यायाधीश भ्रष्टाचार गर्नुहुन्छ । अब बोल्दाखेरि यसरी बोल्ने हो । थाहा छ बोल्नुस् । थाहा छैन नबोल्नुस् । थाहा भएर पनि बोल्नुहुन्न, नबोल्नुस् । प्रधानन्यायाधीश शुद्ध छन् भन्ने लागे, भन्नुस् र मलाई विश्वस्त पार्नुस्,' उनले भने । प्रधानन्यायाधीश जबरामा कानुनी नैतिकता पनि सकिएको उनको भनाइ थियो । 

नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशलाई बिचौलियाको नाइके त्यत्तिकै नभनेको पनि थापाको भनाइ थियो । अति गरिसकेपछि सबैले बोल्नुपर्ने अवस्था आएको थापाको भनाइ थियो । 

'यिनीहरूले पैसा कसरी व्यवस्थापन गरेका छन् भन्ने राज्यले अनुसन्धान गर्नुपर्ने तर गर्दैन,' थापाले भने, 'अमेरिकामा कोही पीआर लिएर बसेको छ । उसको नाउँमा ग्यास स्टेसन किनिदिएको छ । पैसा त्यसरी गएको छ । पैसा होटेलमा गएको छ । पैसा उताबाट विदेशी रकम भएर आएको छ ।'

प्रधानन्यायाधीश जबराले करोड घटीमा कुरै नगर्ने थापाले आरोप लगाए । उनले प्रधानन्यायाधीशसँग बसेर कुन मुद्दामा भ्रष्टाचार भएको छ भनेर भन्नका लागि आफू तयार रहेको त्यसका लागि आमनेसामने आउन चुनौती दिए । 

आफूलाई नबोल्न भन्दै प्रस्ताव आइरहेको पनि थापाले बताए । 'यो अति पनि अति र ? तपाईँ नबोलिदिनुस्, मान्छे पठाइदिन्छु भन्छन्,' उनले भने । 

प्रधानन्यायाधीशका भाइ प्रभु शमशेर जबराले मुद्दाको विषयलाई लिएर बार्गेनिङ गर्ने गरेको पनि वरिष्ठ अधिवक्ता थापाले आरोप लगाए । 'उहाँको भाइ प्रभुशमशेर जबरा रिट दर्ता हुनुभन्दा पहिलेदेखि फोन गरेर 'तिमीलाई थुनाउ कि नथुनाउ ?' भन्नुहुन्छ । हेर्दाहेर्दैको बेलामा पनि बार्गेनिङ ?,' उनले भने । 

प्रधानन्यायाधीश जबराले मुद्दाको कारण देखाउ आदेश जारी गर्ने र उनका भाइले पैसाका लागि बार्गेनिङ गर्ने गरेको थापाको भनाइ थियो । प्रभु शमशेरले फोन गरेका मुद्दाका पक्षले त्यो कुराकानी सार्वजनिक गर्न तयार रहेको पनि थापाले बताए । 

प्रधानन्यायाधीशसँग कुनै व्यक्तिगत कुरा नरहेको पनि थापाको भनाइ थियो । 'यत्तिको प्रधानन्यायाधीश त 'न भूतो, न भविष्यतिः' उहाँले नियुक्त गरेका आएमा त भन्न सक्दिनँ तर क्याडरबाट आएका त यस्ता हुँदैनन्,' उनले भने, 'न्यायपालिका न्याय मार्ग प्रदर्शकको रूपमा छ तर प्रधानन्यायाधीश त्यसलाई बिगार्नमा उद्दत छन् । यो हठ र यो लठमा अब धेरै के के हिसाब मिलाउनु छ भनेर नबस्नुस् । कुनै मुद्दा मामिलामा केही छ भने पनि छोडिदिनुस् ।'

न्यायालयमा देखिएका विकृति र विसंगतिको छानबिन गर्न गठन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतवेदनमा भनिएका कुरा प्रधानन्यायाधीश जबराबारे भएको पनि थापाको भनाइ थियो । 'माननीय हरिकृष्ण कार्कीको सम्पूर्ण प्रतिवेदन चोलेन्द्रमाथिको हो । प्रधानन्यायाधीशले जसलाई मन लाग्यो त्यसलाई सरुवा गर्ने र जसलाई मन लाग्यो उसलाई ल्याउने । न्यायपरिषद्को कुनै अर्थै रहेन । यसबाट पनि भ्रष्टता गरेको छ भनिएको हो,' उनले भने । 

न्यायालयमा भ्रष्टाचारको पक्षमा हो कि विपक्षमा भनेर उभिनुपर्ने अवस्था आएको थापाको भनाइ थियो । 

इजलास बहिष्कार गरेका न्यायाधीशले पनि किन बहिष्कार गरेको हो भनेर स्पष्ट पार्नुपर्ने थापाको आग्रह थियो  । 'किन बहिष्कार गरेको न्यायाधीशले भन्नु त पर्‍यो । प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीशको रूपमा देखेनौं भन्ने कि के भन्ने ?,' उनले भने । 

प्रधानन्यायाधीशले राजीनामा पनि नदिने र महाभियोग नलगाउने अवस्थामा न्यायाधीशहरूले प्रधानन्यायाधीश देऊ भनेर संसद्लाई गुहार लगाउने हो कि ? भन्ने अवस्था आएको थापाको भनाइ थियो । 

प्रधानन्यायाधीश विवादमा

कान्तिपुर

Link copied successfully